धनगढीमा अतिक्रमित भूमी फिर्ता र एमसीसीका विरुद्ध ९ दलको विरोधसभा
धनगढीमा भारतले अतिक्रमण गरेको भूमी फिर्ता र एमसीसी सम्झौता खारेज गर्न माग गर्दै ९ राजनीतिक दलले संयुक्त विरोधसभा गरेका छन्।
सरकारले अमेरिकासंग गरिएको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको अनुदान सम्झौता सम्बन्धी विधेयक खारेज र कालापानी, लिपुलेक लगायतका भुमी समावेश गरी भारतले नक्सा जारी गर्दा समेत सरकार मौन बसेको भन्दै राजनीतिक दलले धनगढीमा आज संयुक्त रुपमा विरोधसभाको आयोजना गरेका हुन्। नेपालमा हस्तक्षेप बढाउन अमेरिकाले एमसीसी लागु गर्न खोजेको भन्दै उक्त सम्झौता खारेज गर्न माग गरिएको छ।
धनगढीमा नेकपा मसाल, नेकपा (क्रान्तिकारी) माओवादी, राष्ट्रिय जनमोर्चा पार्टी, देजमो, नेकपा(माले), नेकपा (माओवादी केन्द्र), जन समाजवादी पार्टी नेपाल, राष्ट्रिय जागरण परिषद् र राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा धनगढीको क्यामस चोकदेखी विरोध ¥याली निकाल्दै पार्क मोडमा कोण सभा गरेका हुन्।
कालापानी क्षेत्र भारतीय नक्सामा सार्वजनिक गरिदा समेत सरकार मौन बसेको र राष्ट्रघाती एमसीसी विधेयक ल्याउन खोजेको भन्दै देशव्यापी विरोध स्वरुप धनगढीमा पनि विरोध सभाको आयोजना गरिएको राष्ट्रिय जनमोर्चा पार्टी सुदूरपश्चिमका अध्यक्ष नन्दराज भट्टले बताए। कोण सभामा बोल्दै नेकपा (क्रान्तिकारी) माओवादीका केन्द्रिय सदस्य रामबहादुर केसीले सरकारले एमसीसी विधेयक कुनै पनि हालतमा पारित गर्न नहुने बताए।
उनले उक्त विद्येयकलाई राष्ट्रघाती विधेयकको संज्ञा दिए। कोण सभामा माओवादी केन्द्रका लोकराज जैसीले सरकारलाई चेतावनी स्वरुप शुक्रबार धनगढीमा संयुक्त रुपमा विरोध गरिएको बताएका छन्।