सुदूर नेपाललाई विश्वसँग जोड्दै

औद्योगिक क्षेत्र समृद्धिको सम्वाहक : उद्योग मन्त्री भट्ट

२०७६ माघ २४, ०३:०२ खबर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माणस्थलको आज अनुगमनका क्रममा आयोजित कार्यक्रममा मन्त्री भट्टले औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ नहुने बताए।

उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीको टोलीसहित औद्योगिक क्षेत्र निर्माणस्थल पुग्नुभएका मन्त्री भट्टले औद्योगिक क्षेत्रको विस्तारमा मन्त्रालय अग्रसर रहेको बताए। “एक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य सरकारले लिएको छ”, उनले भने,  “यसको स्थापनामा अब सरकार ढिलाइ गर्दैन।”

उनलेले दैजी औद्योगिक क्षेत्र स्थापनाको काम प्रदेश र स्थानीय सरकारबाट सम्भव नभएकोले सङ्घीय सरकारले नै निर्माण गरी हस्तान्तरण गर्ने जानकारी दिए।  त्यसैगरी प्रतिनिधिसभा सदस्य नरबहादुर धाँमीले निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न औद्योगिक क्षेत्र स्थापना तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिए।

बेदकोट नगरपालिका–२ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी रहेको छ। दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा अढाइ दशक अघि भएको थियो। रासस 

कमेन्ट लोड गर्नुस