सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा ‘घर घरमा धारा’ निर्माण अभियान

२०७६ माघ २१, ०४:०५ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको अपि हिमाल गाउँपालिकामा हरेक घरमा खानेपानी धारा निर्माण अभियान चलेको छ। सबै नागरिकलाई पानीको पहुँचमा पुर्याउने उद्देश्यसहित एक घर एक मिटरसहितको धारा निर्माण अभियान चलेको हो।

नेपाल सरकार, फिनल्याण्ड सरकार, अपि हिमाल गाउँपालिका र ग्रामीण जलस्रोत व्यस्थापन  परियोजनाले अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा एक घर एक धारा निर्माण गरिरहेको हो।

आर्थिक वर्ष २०७५।०७६ बाट गाउँपालिकाले सुरु गरेको एक घर एक धारा निर्माणको अभियान अहिले थप तीन वडामा विस्तार भएको छ। गत वर्ष अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ लुम्थी सौगन्ना बस्तीमा धारा निर्माण भएको थियो। यस बस्तीमा निर्माण गरिएको खानेपानी योजना प्रभावकारी भएपछि थप वडाहरुमा खानेपानी तथा सरसफाई कार्यक्रम विस्तार गरिएको छ। लुम्थी र सौगन्नामा भाडा धुने चाङसहितको धारा निर्माण गरिएका थिए।

अहिले अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, ३ र ४ मा झण्डै तीन सय बढि घरधुरीमा धारा निर्माण भइरहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना तेस्रो चरण खण्डेश्वरीका जलस्रोत अधिकृत मनोरथ जोशीले जानकारी दिए।

चालू आर्थिक वर्षभित्र अपिहिमाल गाउँपालिकाको सबै भन्दा ठूलो कुरमुल खानेपानी आयोजना सम्पन्न गर्दैछ। गत वर्षबाट शुरु भएको यो खानेपानीले खण्डेश्वरीको खानेपानी समस्या समाधान हुने सल्लाहकार जोशीको भनाई छ। 

पानी नहुँदा खण्डेश्वरी बजार नै विस्थापित हुने अवस्थामा पुगेको बेला यो क्षेत्रमा कुरमुल खानेपानी आयोजना निर्माण भइरहेको हो। गाउँपालिका केन्द्रसमेत रहेको खण्डेश्वरी बजार क्षेत्रमा लामो समयदेखि पानी अभाव हुँदै आएको छ। 

झण्डै दुई दर्जन बढि होटल तथा पसलहरु, विद्यालय, गाउँपालिका वडा कार्यालय प्रहरी चौकी, हुलाक, लगायतका थुप्रै संघ संस्थाहरु यहि क्षेत्रमा छन्, उद्योग वाणिज्य संघ खण्डेश्वरीका अध्यक्ष पोखरसिह रोकायाले भने, पानी नहुँदा बजार नै समस्या भइरहेको बेला अहिले ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत एक घर एक धारा निर्माणले सहज बनाउँदैछ।

यो आयोजना अन्तर्गत १ सय ५५ व्यक्तिगत धारा निर्माण हुनेछन् । यो आयोजनाको ८० प्रतिशत काम सकिएको छ। चौविसन, देउरुख, खण्डेश्वरी बजार, सल्ली, खल्कोट लगायतका वस्तीसम्म यो पानी पुर्याइने छ। अहिलेसम्म २० वटा धारा निर्माण सकिएको छ। अहिले आयोजनाको अन्य काम सकाएर धारा निर्माणको काम शुरु गरिएको छ। 

यस्तै अपिहिमाल गाउँपालिकाको– १ मा आरुखोड बहुउद्देश्यीय आयोजना अन्तर्गत ३४ वटा धारा निर्माण भइरहेको छ। यस्तै वडा नम्बर ३ को झुस्कु चौड खानेपानी तथा सरसफाई आयोजना अन्तर्गत २७ धारा, खत्तोली बहुउद्देश्यीय खानेपानी आयोजना अन्तर्गत २७ धारा, तथा वडा नम्बर ३ कै क्षत्ति घाजिरमा ६४ वटा धारा निर्माणको अस्थामा रहेको जलस्रोत सल्लाहकार जोशीले जानकारी दिए।

यसैगरी वडा नम्बर ३ कै पाथा र कसौती बस्तीलाई लक्षित गरि खानेपानी धारा निर्माणको लागि सर्वेक्षणको काम गर्ने तयारी भएको छ। कोहि पनि वस्ती खानेपानीबाट वञ्चित नहुन भन्नको लागि खानेपानी तथा सरसफाईमा जोड दिइएको छ।

अपिहिमाल गाउँपालिकामा खानेपानी तथा सिचाई निर्माणको लागि चालू आर्थिक वर्षमा नेपाल सरकारको ३८ लाख ५८ हजार, फिनल्याण्ड सरकारको १ करोड ५ लाख ३५ हजार अपिहिमाल गाउँपालिकाको ५१ लाख ८० हजार रुपैयाँ गरी कुल १ करोड ९५ लाख ७३ हजार रुपैयाँ खर्च हुँदैछ।

अपिहिमाल गाउँपालिकालाई खानेपानी तथा सरसफाईको क्षेत्रमा अब्बल बनाउने गरी कार्यक्रम सञ्चलन गरिएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए। हरेक टोल र वस्तीलाई खानेपानीको साथै पूर्ण सरसफाई उन्मुख बनाउने योजना रहेको छ।
अपिहिमाल गाउँपालिकाको वडा नम्बर ५ का १ सय ५ घरधुरीमा नमुनाका रुपमा सुरुवात गरिएको एक घर एक धारा निकै प्रभावकारी भएको गाउँपालिकाले जनाएको छ।

आफ्नै घरको आँगनमा खानेपानीको धारा भएपछि समयको बचत हुनुका साथै करेसा बारीमा सिंचाइ गर्न पनि सहज भएको लुम्थीपन्यार खानेपानी उपभोक्ता समितिका अध्यक्ष जयभानसिंह धामीले बताए। विगतमा घण्टौ लगाएर पानी बोक्नुपर्ने ठाउँमा अहिले आगनमै खानेपानी धारा छ। यहिबाट बचेको पानी बारीमा तरकारी फलाउन मिलेको छ। 

गाउँमा खानेपानी निर्माण हुने भएपछि अहिले अपिहिमालका स्थानीयहरुले श्रमदानमै अधिकांश काम गर्दै आएका छन्। ‘घर घरमा खानेपानी र सरसफाई हुने भएपछि उपभोक्ता खुसी छन्’ स्थानीय नरभान रोकायाले भने।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस