धनगढीको हसनपुर–शिवनगर सडक निर्माणको काम अलपत्र
धनगढीकै पुरानो हसनपुर–शिवनगर सडक खण्ड निर्माणको काम वर्षौँदेखि अलपत्र परेको छ। स्थानीयले सडक निर्माणका लागि पटक पटक सरोकारवाला निकायलाई गुर्हादा पनि कालोपत्रेको लागि गत वर्ष ठेक्का सम्झौता गरिएको थियो। तर कालोपत्रेको लागि भएकै सडक भत्काएर निर्माण कम्पनीले लापरवाही गरिरहेको आरोप स्थानीय मुकेश खड्काले लगाए।
‘विगत दुई महिनादेखि निर्माण कम्पनी नै सम्पर्क विहिन भएको छ।’ उनले भने। ‘आधा निर्माण गरिएको नाली समेत भत्कीदै छ।’ ‘कालोपत्रे गर्ने नाममा पुरानो सडक भत्काएर आलपत्र छोडेपछि आवातजावातमा समस्या भईरहेको छ।’ ‘अब पनि काम सुरु नभए हामी आन्दोलन गर्न बाध्य हुन्छौँ।’ खड्काले बताए। स्थानीयका अनुसार धनगढीमा त्रिनगर गाविस हुँदा देखि नै उक्त सडक निर्माणको चर्चा चलेको थियो।
तर अहिले नगरपालिका, उप–महानगरपालिका हँुदै जनप्रतिनिधि आउदाँ पनि सडक निर्माणले गति लिन नसकेको स्थानीय अनिल भण्डारीले बताए। ‘पुरानो सडक भत्काएर अलपत्र छोडेपछि आवतजावतमा निकै सास्ती भईरहेको छ।’ उनले भने ‘सबै सरोकारवाला निकायलाई आग्रह गर्दा पनि कसैले चासो दिएनन्।’
वडा नम्बर ५ हसनपुरमा पर्ने पुरानो वोरिङदेखि शिवनगर जोड्ने उक्त सडकको लम्बाई करिव सात सय मिटर रहेको उप–महानगरपालिकाले जनाएको छ। ढाई वर्षदेखि निर्माण थालिएको सडकको नालीले समेत पूर्णता पाउँन सकेको छैन्। स्थानीयले सरोकारवाला निकायलाई पटक–पटक गुहार्दा पनि वेवास्ता गरेको आरोप लगाएका छन्।
सडकमा देखिएको समस्या समाधान गर्नुको सट्टा कालोपत्रे गर्ने नाममा भएकै सडक भत्काएर अलपत्र परेको गुनासो स्थानीय जंग बहादुर हमालले गरे। धनगढी उप–महानगरपालिकाले भने दुई महिनादेखि निर्माण कम्पनी सम्पर्क विहिन भएको स्वीकार गरेको छ। आर्थिक वर्ष २०७५/०७६ मा वहुवर्षिय ठेक्का सम्झौता गर्दै सहारा कन्ट्रक्सनलाई उक्त सडक निर्माणको जिम्मा दिईएको थियो।
आउँदो असार मसान्त सम्म निर्माण अवधी रहेको सडकको नाली निर्माण र कालोपत्रेका लागि ७३ लाख २६ हजार मा ठेक्का सम्झौता भएको उप–महानगरपालिकाका ईन्जिनियर दीजराज भट्टले बताए। ‘निर्माण व्यवसायी हाम्रो सम्पर्कमा छैन्।’ उनले भने ‘दुई महिनादेखि काम रोकिएको गुनासो आएको छ।’ तर ‘निर्माण कम्पनीको ठेगानामा हामीले पत्राचार गरेका छाँै।’ उनले भने।