सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भारतीय पर्यटकबाट ५६ हजार लुट्ने बार सञ्चालक पक्राउ

२०७६ माघ २०, १२:२१ खबर संवाददाता

धनगढीमा भारतीय पर्यटकबाट ३५ हजार भारतीय अर्थात ५६ हजार नेपाली रुपैँया असुल्ने एक जना बार सञ्चालक पक्राउ परेका छन्। उप–महानगरपालिकाको कैलाली पुल नजिक रहेको देजाभु डान्स बारका २७ बर्षीय सञ्चालक गणेश विष्टलाई प्रहरीले पक्राउ गरेको हो।

माघ १५ गते भारतको पिलिभितबाट आएका ४० बर्षीय चन्द्रपाल नशवाद र शान्तिस्वरुप शर्मासंग भएको सबै रकम असुलेको आरोपमा बार सञ्चालक विष्टलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले अनावश्यक रुपमा बिल बढाएर भारतीय पर्यटकसंग भएको सबै रकम लुटेको गुनासोको आधारमा विष्टलाई पक्राउ गरिएको बताए।

‘बार सञ्चालक विष्ट विरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा मुद्धा चलाएका छौँ,’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने, ‘अहिले भ्रमण बर्ष चलिरहँदा पनि अनावश्यक रुपमा पर्यटकलाई सास्ती दिए अन्यलाई पनि कारवाहीको दायरामा ल्याउँछौँ।’ यसअघि धनगढीकै कोब्रा बारबाट समेत सोही किसिमको गुनासो आएपछि अहिले उक्त बार नै बन्द रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। 
 

कमेन्ट लोड गर्नुस