दार्चुलाका दुई स्थानीय तहमा अझै विद्युतको राष्ट्रिय प्रसारण लाईन पुगेन
दार्चुला: दार्चुलाका दुई वटा स्थानीय तह अझै नेपाल विद्यत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएका छैनन्। गत आर्थिक वर्षदेखि राष्ट्रिय प्रसारण लाईन जोड्ने गरी निर्माण कार्य शुरु भएको भएपनि निर्माण कार्यमा भइरहेको ढिलाई कारण जोडिन नसकेको हो।
गत वर्षदेखि अपिहिमाल गाउँपालिका र नौगाड गाउँपालिकामा राष्ट्रिय प्रसारण लाईन जोड्ने गरी ठेक्का भएपनि काम पूरा भएको छैन्। यसैगरी जिल्लाका अन्य स्थानीय तहकका सबै वडाहरुमा ुमेत विद्युतीकरण हुन सकेको छैन्।
गत वर्ष जिल्लाका नौ वटै स्थानीय तहमा १० करोड बजेटमार्फत विद्युतीकरणको काम शुरु गरिएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले जानकारी दिए। ‘गत वर्षकै ठेक्काको सबै काम सकिएको छैन्, समयमै सामाग्री आउन नसक्दा निर्माण व्यवसायीले काममा ढिलाई गरे’ उनले भने ‘अपिहिमाल र नौगाड गाउँपालिकामा विद्युतको पोल गाड्ने काम भइरहेको छ। चालू आर्थिक वर्ष भित्रै तार जोड्ने काम जडान हुन्छन्। जिल्लाबाटै नेपाल विद्युत प्राधिकरणमा सयौं मेगावट विद्युत थपिदैछन। तर यहिका स्थानीय तहका अधिकांश वस्तीहरु अझै अन्धकारमै छन्।’
नौगाड गाउँपालिकाको वडा नम्बर ५ र ६ मा अहिले विद्युतको पोल विस्तार गर्ने काम भइरहेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए। नौगाड गाउँपालिकाको वडा नम्बर १, ५ र ६ को आधा भूभागमा कुनै पनि विद्युत पुगेको छैन्।
अध्यक्ष धामीका अनुसार गाउँपालिकाका अन्य वडाहरुमा ग्रामीण विद्युतीकरणमार्फत बिजुली पुगेको छ। नौगाड गाउँपालिकाको वडा नम्बर ६ मा साढे आठ मेगावटको अपर नौगाड उत्पादन भएर अहिले बलाँचमार्फत राष्ट्यि प्रसारण लाईनमा जोडिएको छ। तर यहाँका अधिकांश वस्ती अन्धकारमै छन्।
गत वर्ष मार्मा गाउँपालिकासम्म राष्ट्यि प्रसारण लाईन जोडिएको थियो। अहिले गाउँपालिकाका सबै वडासम्म विद्युत पुर्याउन ट्रान्सफर्मरको अभाव रहेको गाउँपालिका अध्यक्ष जमनसिह धामीले जानकारी दिए। विद्युत प्राधिकरणमार्फत मेन लाईन तथा ट्रान्सफर्मर पुरयाउन टेण्डर भएको थियो। शाखा लाईनहरुमा गाउँपालिकाले काम गरेको छ। गाउँपालिकाका सबै वडामा शाखा लाईन जडान भएका छन्। चालू आर्थिक वर्षभित्र सबै वडाहरुका वस्तीमा विद्युत बाल्ने लक्ष्य रहेको अध्यक्ष धामीको भनाई छ।
नेपाल विद्युत प्राधिकरण दार्चुलाका प्रमुख दयाराम शाहका अनुसार विद्युतीकरणको काम यो वर्ष तिव्र गतिमा हुने बताउँछन्। प्राधिकरणले हरेक स्थानीय तहमा ७ किलोमिटर क्षेत्रमा मेन लाईन तथा १५ किलोमिटर क्षेत्रफल भित्र शाखा लाईन विस्तार गर्दै छ।
यसअघि दार्चुलाको शैल्यशिखर, मालिकार्जुन, लेकम, महाकाली नगरपालिका, दुहुँ र व्यास गाउँपालिकाका केहि वस्तीहरुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्यि प्रसारण लाईनमार्फत विद्युत जडान भएको छ।
दश करोड बजेट विनियोजन
चालू आर्थिक वर्षमा दार्चुलाका नौ वटै स्थानीय तहमा विद्युतीकरणको लागि १० करोड रुपैयाँ विनियोजन भएको छ। सबै स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्यि प्रसारण लाईन पुर्याउने उद्देश्यसहित बजेट विनियोजन भएको हो।
चालू आर्थिक वर्षमा विद्युतीकरणको लागि सबै भन्दा बढि लेकम र मालिकार्जुन गाउँपालिकामा २/२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। यस्तै मार्मा, अपिहिमाल, नौगाड, दुहुँ, व्यास गाउँपालिकामा विद्युतीकरणको लागि १/१ करोड रुपैयाँ बजेट विनियोजन भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए। यस्तै महाकाली नगरपालिकाको लागि ६० लाख तथा शैल्यशिखर नगरपालिकाको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन भएको छ।
विद्युतीकरणको लागि एकसाता भित्रै प्रस्ताव आह्वानको तयारी भएको शाहले जानकारी दिए। अहिलेको बजेटमार्फत सबै स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनको पहुँच पुर्याइने छ।