डडेल्धुरामा नेकपाका गाउँपालिका अध्यक्षलाई निर्घात कुटपिट, कमिटी सदस्य भागेर बाँचिन
धनगढी: डडेल्धुरामा अज्ञात समूहले नेपाल कम्युनिष्ट पार्टी नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अपहरण गरी निर्घात कुटपिट गरेको छ।
शुक्रबार १२ बजेपछिको समयमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेकोे प्रहरीले जनाएको छ। जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट बाँचेकी छन्।
आलिताल तालभन्दा करिब पाँच सय मिटर माथि चौर वण्डले भन्ने स्थानमा मुकुण्डो धारी समूहले जोशीमाथि अपहरण र कुटपिट गरी गम्भीर घाइते बनाएको आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक(असइ) कमलप्रसाद जोशीले जानकारी दिए। अज्ञात समूहको कुटपिटबाट जोशीको खुट्टा भाँचिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ।
उनलाई उपचारका लागी एम्बुलेन्समार्फत धनगढी ल्याइएको छ। घटनापछि प्रहरीले मुकुण्डो धारी समूहको खोजीकार्य तीव्र पारेको छ।
यता नेकपा डडेल्धुराले गाउँपालिका कमिटि अध्यक्ष जोशीमाथि भएको कुटपिटको घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ।
प्रेस विज्ञप्ती जारी गर्दै नेकपाले अहरण र कुटपिट गरी घाईते बनाएको घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। नेकपा डडेल्धुराका सचिव बिरेन्द्र कुमार बस्नेतद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा ‘पार्टीले निर्धारण गरेको कार्यक्रममा जानेक्रममा भएको यस्तो कायरतापूर्ण घटनाको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टि ९नेकपा० घोर भत्र्सना गर्दछ।’
अगाडी भनिएको छ,‘गैर राजनैतिक तरिकाले आतंककारी शैलीमा गरिएको यस्तो घटनाले हाम्रो पार्टी र पार्टी कार्यकर्ताको मनोवलमा कुनै प्रकारको बिचलन आउने छैन र यस्ता प्रकारका घृणित क्रियाकलाप जो कसैले गरेको भएपनि आफैं जनता र समाजको अगाडि नाङ्गीने छन्।’ अपहरण र कुटपिटमा संलग्नको खोजी गरी कारवाहीको माग पनि नेकपाले गरेको छ।