घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव समापन
कैलालीको सुखडमा जारी घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव समापन भएको छ। गत माघ २ देखि घोडाघाडी नगरपालिकाको सुखड बजारमा सञ्चालन भएको महोत्सव आइतबार समापन भएको हो।
महोत्सवको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले समापन गरे। प्रमुख चौधरीले महोत्सवले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धि र पर्यटन प्रवद्र्धनमा भूमिका निर्वाह गरेको बताए। स्थानीय कला,संस्कृति, रीतिरिवाज र मौलिक परम्पराको जगेर्ना र प्रवद्धनका लागि महोत्सवको भूमिका महत्वपूर्ण रहेको प्रमुख चौधरीले बताए।
भ्रमण वर्ष २०२० लाई सफल बनाउन, राष्ट्रिय तथा स्थानीय स्तरका मुद्दाहरुको उठान गर्न महोत्सव सफल भएको आयोजकको दावि छ। नगरपालिका भित्रका पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको महोत्सवको माध्यमबाट प्रचार प्रसारमा सहयोग पुगेको आयोजक घोडाघोडी मिडिया सञ्चार समूहको दावि छ।
‘स्वास्थ्य, शिक्षा, सूचना विकासको अभियान, कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान’ नारा सहित महोत्सव सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक एवं घोडाघोडी मिडिया सञ्चार समूहका अध्यक्ष हरेन्द्र चौधरीले बताए।