सुदूर नेपाललाई विश्वसँग जोड्दै

फलफूलका बिरुवा बेचेर मनग्य आम्दानी गर्दै बैतडीका किसान

२०७६ माघ १२, ०६:०३ खबर संवाददाता

बैतडी: फलफूलका बिरुवा बैतडीका किसानका लागि आम्दानीको स्रोत बन्दै गएको छ। जिल्लाको सुर्नया र दशरथचन्द नगरपालिकाका किसानले फलफूलका बिरुवाबाट मनग्य आम्दानी गरिरहेका हुन्। 

दशरथचन्द नगरपालिका–१ गुरुखोला र सुर्नया गाउँपालिका–२ बासुलिङ्गका किसानले हिउँदे तथा बर्खे फलफूलका बिरुवा रोपेर किसानले आम्दानी गर्न थालेका हुन्। निजी नर्सरीमा फलफूलका बिरुवा उत्पादन गरेर यहाँका किसानले आम्दानी गर्ने गरेका हुन्। प्रत्येक वर्ष आफूले निजी नर्सरीबाट वार्षिक रु छ लाखभन्दा बढी कमाउने गरेको किसान देवदत्त भट्टले बताए। उनले भने, “आफ्नो निजी नर्सरीबाट हिउँदे तथा बर्खे फलफूलका बिरुवाहरु बिक्री हुने गरेको छ।”  

निजी नर्सरी नै परिवार पाल्ने माध्यम बनेको दशरथचन्द नगरपालिका–१ कलौनका किसान परमानन्द भट्टले बताए। उनले भने, “मेरो निजी नर्सरीबाट बर्से्नि देशका विभिन्न स्थानमा फलफूलका बिरुवा बिक्री हुने गरेको छ।” दशरथचन्द नगरपालिका–१ मा १९ र सुर्नया गाउँपालिका–२ मा तीनवटा निजी नर्सरी रहेका सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए। 

“किसानले निजी नर्सरीबाटै लाखौँ आम्दानी गर्ने गरेको छ”, उनले भने, “सुख्खा फलफूल विकास केन्द्र र किसानका निजी नर्सरीबाट बर्से्नि लाखौँका बिरुवा बिक्री हुने गरेको छ।” हिउँदे फलफूलका बिरुवा रोप्ने समय शुरु भएकाले अहिले निजी नर्सरी तथा सुख्खा फलफूल विकास केन्द्रबाट फलफूलका बिरुवा बिक्री भइरहेको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख डम्मर भाटको भनाइ छ।

सतबाँझमा जैतुन, कागजी बदाम, काजुलगायत फलफूलका बिरुवा उत्पादन गर्न थालिएको बताइएको छ। किसानलाई ८० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्ने गरिएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामध्ये बैतडीमा मात्रै फलफूलका निजी नर्सरी रहेका छन्। 

विसं २०१९ मा स्थापना भएको बागबानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सतबाँझमा पहिला देशभरिकै बढी स्याउका जात फल्ने गरेको भए पनि पछिल्लो समयमा हिउँ पर्न छोडेपछि स्याउ फल्न छोडेको छ।
जलवायु परिवर्तनको असरले स्याउ फल्न छोडेपछि केन्द्रले अहिले फलफूलका बिरुवा उत्पादन तथा तरकारी खेती गर्न थालेको हो। केन्द्रको २९ हेक्टर जमीनमध्ये अहिले १२ हेक्टरमा फलफूल तथा तरकारी खेती गरिँदै आएको छ। –रासस
 

कमेन्ट लोड गर्नुस