सेती अस्पतालमा राजनीतिक हस्तक्षेप बढेपछि तनावमा डाक्टर
तत्कालीन सेती अञ्चल अस्पताल सुदूरपश्चिम प्रदेश सरकार मातहत आईसकेपछि झण्डै एक वर्ष सम्म विकास समिति विहिन भएको थियो। प्रदेशको मन्त्रीपरिषद् बैठकले अस्पताल व्यवस्थापन समिति गठन आदेश पारित गर्दै २९ साउनमा दुर्गादत्त जोशीलाई अध्यक्षमा नियुक्त गरेको थियो।
लामो समय सम्म राजनीतिक नेतृत्व विहिन बनेको अस्पताल, व्यवस्थापन समिति आएपछि सुुधार हुने अपेक्षा गरिएको थियो। तर सेती प्रादेशिक अस्पतालमा राजनीतिक नेतृत्वबाट अपेक्षा गरिएको भन्दा ठिक विपरीत काम हुन थालेपछि अस्पताल आन्तरिक कलहमा फसेको छ।
अस्पताल व्यवस्थापन समिति विहिन रहेका बेला मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी पाएका डाक्टर हेमराज पाण्डेले गरिरहेका सुधारात्मक काममा समेत अहिले अवरोध सिर्जना गर्न थालिएको पछिल्लो समय विकसीत घटना क्रम पुष्टि गरिदिएको छ।
२८ लाख प्रदेशबासीको जनस्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सेती प्रादेशिक अस्पतालको सेवा सुधार भन्दा पनि गलत नियतका साथ आफ्नो निहित स्वार्थ पूर्ती गर्न सामाजिक विकास मन्त्रालय र व्यवस्थापन समिति लागेको देखिएको छ।
व्यवस्थापन समिति आएपछि विवादको श्रृङखला यस्तो छ :
मेसु पाण्डेलाई हटाएर डाक्टर निरज अर्याललाई भर्ना गर्ने चलखेल
सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति आएपछि सेवा सुधारको काम गरिरहेका मेसु डाक्टर हेमराज पाण्डे पहिलो निसानामा परे। व्यवस्थापन समिति विहिन भएका बेलादेखि नै कार्य योजना बनाएरै सेवा सुधार गरिरहेका पाण्डेबाट निहित स्वार्थ पूर्ती नहुने भएपछि हटाउन चलखेल सुरु भयो।
स्रोतका अनुसार सामाजिक विकास मन्त्रालयको सचिव स्तरीय बैठकले पाण्डेलाई हटाएर मेसुमा नवौँ तहका डाक्टर निरज अर्याललाई बनाउने निर्णय गरेको थियो। तर उक्त कुरा बाहिरिएपछि सेवा सुधार गरिरहेका पाण्डेलाई हटाउने भन्दै चौतर्फी विरोध भयो।
त्यसै कारण व्यवस्थापन समिति र मन्त्रालय उक्त निर्णय कार्यान्वयन गर्न सकेन। त्यती बेला व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद जोशी भने विवादमा आएनन्। मेसु परिवर्तन गर्ने कुनै चलखेल नभएर र आफूसंग उक्त अधिकार पनि नभएको भन्दै उनी जोगिए।
पदस्थापन रोकिएका बेला अस्पतालमा कार्यरत स्वास्थ्य कर्मचारीलाई समायोजन भएको ठाउँमा जान दबाब
संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै मंसिर ८ गतेदेखि अर्को व्यवस्था नभए सम्मका लागि भन्दै समायोजन संशोधन, सरुवा, पदस्थापन तथा काज सम्बन्धीका काम स्थगीत गरेको छ। अर्को व्यवस्था नभए सम्मका लागि सम्बन्धीत कार्यालयमै कार्यरत रहन भनिएको छ।
तर संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले दोस्रो निर्देशन नगरेका बेला सेती प्रादेशिक अस्पतालले मंसिर ३० मा सूचना जारी गरी समायोजन भएका कर्मचारीलाई एक हप्ता भित्र सम्बन्धीत स्थानमा रमना भई जान भन्यो। संघिय सरकारबाट अर्को परिपत्र नभएकै बेला विकास समितिको स्वार्थमा सेती प्रादेशिक अस्पतालले उक्त सूचना जारी गर्दै कर्मचारीलाई पदस्थापन भएर जान दबाब दिएको आरोप लाग्यो।
समायेजन भएका स्वास्थ्य कर्मचारी रमना लिएर गए करारमा निकटका व्यक्ति भर्ना गर्ने बाटो सहजै खुल्ने भएकाले दबाब दिईएको भन्दै आलोचना भयो। तर त्यती बेला पनि अध्यक्ष जोशी उक्त आरोप गलत र कपोकल्पीत भएको तर्क दिए पन्छीए।
कुनै सीप नचलेपछि मेसु विरुद्ध वेनामी उजुरी
जसरी भएपनि मेसुबाट डाक्टर पाण्डेलाई हटाउनुपर्छ भन्ने पक्षमा उभिएको सामाजिक विकास मन्त्रालय र व्यवस्थापन समितिले कुनै सीप नचलेपछि मेसु विरुद्ध अख्तियारमा वेनामी उजुरी हाले। अख्तियारमा उजुरी हालेपछि तत्कालै मेसुबाट पाण्डेको राजिनामा आउछ भनेर ढुकेर बसेका उनीहरुको त्यो प्रयास पनि असफल भयो।
पहिलो पटकको उजुरीमाथि अख्तियारले कुनै सुनवाई नगरेपछि सामाजिक विकास मन्त्रालयकै कर्मचारीले फेरी अर्को वेनामी उजुरी हाले। अख्तियारले अनुसन्धानबाट ततत्काल कुनै तथ्य नभेटिएपछि मेसु विरुद्धको उजुरी तामेलीमा राखेको छ।
काम गर्ने मेसु जस लिन खोज्न अध्यक्ष
सेती अस्पतालको मेसुको जिम्मेवारी पाएको डाक्टर पाण्डेले १७ महिने कार्यकाल पूरा गरिसकेका छन्। व्यवस्थापन समिति आउँदा पाण्डेले एक वर्षे कार्यकाल पूरा गरिसकेका थिए। यो अवधीमा पाण्डेले अस्पतालको सेवा सुधारमा दर्जनौ काम गरिसकेका थिए।
दैनिक तथा मासिक कार्ययोजना बनाएरै काम गर्दै आएका पाण्डेले अस्पतालको सरसफाई, वार्ड विस्तार, खानेपानी व्यवस्थापन, पुर्ननिर्माण, प्रयोगशाला सेवा विस्तार तथा सुधार, प्रसुती, डेण्डल लगायतका वडामा अत्याधुनिक उपकरण जडान सहितका देखिने सुधारात्मक काम गरेका छन्।
तर मेसु पाण्डेले गरेका कामको जस पनि व्यवस्थापन समितिले नै लिने खोज्यो। डाक्टर पाण्डेले अस्पतालको सेवा सुधार गरेको भन्दै सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि काम गर्ने अध्यक्ष नाम मेसुको भन्दै उनी निकटका व्यक्तिले सामाजिक सञ्जालमा विरोध गर्न समेत भ्याएका थिए।
र पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक रुपमै सुधारका काम समिति आएपछि भएको दावी समेत गरेका थिए। यद्यपी व्यवस्थापन समिति आएपछि पनि केही सुधारका काम भने नभएका होईनन्।
सिटी स्क्यान मेसिन खरिद
सामाजिक विकास मन्त्रालयले सेती अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिदका लागि आठ करोड ५० लाख बजेट छुट्याएको छ। उक्त बजेटको अख्तियारीले अस्पतालले पाईसकेको छ तर मेसिन खरिद गरिसकेपछि राख्ने भवनको अभाव छ।
अस्पतालले भवन निर्माणको प्रक्रिया अगाडी बढाएको भएपनि चालु वर्षको अन्तमा मात्रै सम्पन्न हुने देखिएको छ। अर्कोतर्फ आर्थिक वर्षको छ महिना मात्र बाँकी छन् तर सिटी स्क्यान मेसिन खरिद गर्न न्यूनतम ८ महिना समय आवश्यक पर्छ।
यसका बाबजुद पनि व्यवस्थापन समिति र सामाजिक विकास मन्त्रालयले सिटी स्क्यान मेसिन खरिद गर्ने अडान लिएका छन्। पर्याप्त समय नभएकाले सिटी स्क्यानको बजेटले अतिआवश्यक भेन्टीलेटर, ईण्डोस्कोपी, अल्ट्रासाउण्ड, डेण्टल उपकरण, इएनटी उपकरण, फिजियोथेरापी उपकरण, ल्याब सम्बन्धी उपकरण खरिद गर्न निर्देशन माग्दै मेसु पाण्डेले सामाजिक विकास मन्त्रालयलाई पत्र पठाए।
सोही विषयलाई लिएर व्यवस्थापन समितिका अध्यक्ष जोशीले मेसुले आफूलाई सोध्दै नसोधी पत्राचार गरेको भन्दै विवाद झिके। उनले औपचारिक बैठकमै मेसुलाई हप्काउदै हटाईदिने घुर्की लगाए।
अध्यक्ष जोशी र सामाजिक विकास मन्त्रालय मिलेमतोमा सिटी स्क्यान मेसिन खरिद गरी आर्थिक लाभ लिन सकिने देखिपछि अस्पतालको आवश्यकता नभएका बेला पनि जसरी पनि किन्नुपर्ने पक्षमा उभिएको आरोप छ।
अस्पतालका प्रशासनिक काममा पनि हस्तक्षेप
व्यवस्थापन समितिले अस्पतालमा स–साना विषयमा पनि हस्तक्षेप बढाएपछि विवाद बढ्दै गएको दावी गरिन्छ। सबै प्रशासनिक कामको अधिकार मेसुलाई भएपनि व्यवस्थापन समितिले हस्तक्षेप बढाउँदै लगेपछि समस्या भएको छ।
अध्यक्ष जोशीले मेसुलाई प्रशासनिक कामकाज सम्पादन गर्दा पनि आफूलाई सोधुन भन्ने चाहान्छन्। तर त्यो सम्भव हुँदैन् र सोध्नै पर्ने प्रावधान पनि छैन्। सोही विषयलाई लिएर जोशी मेसुसंग पटक पटक लफडा गर्दै आएको अस्पताल स्रोत बताउँछ।
ई–बिडिङ टाउको दुःखाई
डाक्टर हेमराज पाण्डे अस्पतालको मेसु भएर आईसकेपछि विगतमा मिलेमतोमा हुँदै आएको ठेक्का प्रक्रिया भंग गरिएको छ। अस्पतालले अहिले विद्युतीय खरिद प्रणाली ई–बिडिङ मार्फत औषधी, उपकरण, भवन निर्माण लगायतका ठेक्का दिदै आएको छ।
जसले गर्दा सीमित व्यक्तिले ठेक्का पाउने स्थिती छैन्। मेसु पाण्डेले अस्पतालका लागि आउने बजेटको बढि भन्दा बढि सदुपयोग गरेका छन्। त्यसैले विचौलिया, अस्पताल व्यवस्थापन समिति र टाठाबाठाले फाईदा उठाउन पाएका छैनन्।
उनीहरु अस्पतालमा हुने खरिद प्रक्रिया स्थानीय टेण्डर मार्फत होस् र आफूहरुले मिलेमतो गर्न पाउ भन्ने चाहाना राख्छन्। तर मेसु पाण्डे त्यसो हुन नदिने पक्षमा रहेकाले ई–बिडिङ उनीहरुको टाउको दुःखाईको विषय बनेको छ।
यस्तै कुराहरुलाई लिएर वषौँदेखि दरबन्दी अनुसारका चिकित्सकको आपूर्ती हुन नसकेको अस्पतालमा अहिले कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मचारीलाई समेत काम गर्न नदिने वातावरण सिर्जना गर्ने काम भईरहेको स्रोतले बताउँदै आएको छ।
अस्पतालमा कार्यरत १५ चिकित्सक मध्ये १२ जनाको संघमा समायोजन भएकोमा छ जना काजमा कार्यरत छन्। ती मध्येका तीन जनाले प्रदेश रोजेकोमा थिए भने तीन जना संघिय सरकारबाटै पदस्थापन नभएपछि सेतीमै सेवारत हरेका छन्।
मेडिकल सुपरीटेन्डेन्ट पाण्डे सहितका तीन जना डाक्टरले यसअघि नै प्रदेश रोजेका थिए। तर अहिले आएर उनीहरुलाई काम गर्न नदिने वातावरण सिर्जना गरिरहेको दावी गरिदै आएको छ। विगतमा पनि तत्कालीन अस्पताल विकास समिति, विचौलिया र प्रशासनकै कारण सेवा सुधार हुन नसकेकोमा अहिलेको राजनीतिक नेतृत्वले पनि स्वार्थ पूर्ती हुन नपाईएपछि वषौँदेखि सेवारत चिकित्सकमाथि अनावश्यक तनाव दिदै आएको छ।
अध्यक्ष दुर्गाप्रसाद जोशीले चिकित्सकहरुलाई आफ्नो निर्देशन अनुसार चल्नुपर्ने, मेडिकल सुपरीटेन्डेन्ट डाक्टर पाण्डेलाई आफू अनुकुलका निर्णय गर्नूपर्ने भन्दै दबाब दिने गरेको अस्पताल स्रोतको दावी रहेको छ। तर उनीहरुले कानून विपरीतका काम गर्न नसकिने भन्दै असहमती दिएपछि जोशीले जागिरबाट नै हटाईदिने चुनौती दिदै आएका छन्।
केही दिन अघिको बैठकमा पनि जोशीले चिकित्सक र स्वास्थ्यका कर्मचारीलाई खुलेआम हप्काएपछि वषौँदेखि सेवारत चिकित्सकहरुले अनावश्यक दबाबमा काम गर्न नसकिने भन्दै समायोजन भएको ठाउँमा सरुवा भएर जाने मुड बनाईसकेको पनि स्रोतको भनाई छ।
तर चिकित्सकहरु अन्यत्र गएमा सेवा प्रभावित हुने भन्दै चिन्ताहरु व्यक्त भईरहेका छन्। अस्पताल व्यवस्थापन समिति आएपछि भने नियमित कामकाज समेत प्रभावित भएका छन्। व्यवस्थापन समितिका अध्यक्ष जोशी लगायतले आवश्यक कानूनी प्रक्रिया पूरा गरी पारदर्शी रुपमा सम्पादन गरिएका काममा समेत प्रश्न उठाउने गरेका छन्।
सामाजिक विकास मन्त्रालय र व्यवस्थापन समितिले मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन गर्ने मात्र नभएर मन नपरेका अन्य चिकित्सकलाई पनि अस्पतालबाट हटाउने चलखेल गरिरहेको स्रोतले बताउँदै आएको छ।
धनगढी उपमहानगरपालिकामा मेयरमा पराजीत भएका व्यवस्थापन समितिका अध्यक्ष जोशी भने चुनावी खर्च उठाउन पाउनुपर्ने भन्दै बजेटमाथि मनोमानी गर्ने मुडमा रहेको आरोप लागेको छ। यद्यपी जोशीले यसअघि नै उक्त कुरामा कुनै सत्यता नभएको प्रतिक्रिया दिइसकेका छन्।