सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रमण वर्ष सफल पार्न 'डडेल्धुरा महोत्सव'

२०७६ माघ ४, ०७:४७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा ‘सुदूरपश्चिम प्रदेश स्तरीय कषि, पर्यटन औद्योगित व्यापार मेला एवं चौथो –डडेल्धुरा महोत्सव’ आयोजना हुने भएको छ। ‘सुखी नेपाली समृद्ध नेपालः कृषि पर्यटन उद्योग र व्यापार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ यहीँ फागुन ८ गतेदेखि १८ गतेसम्म आयोजना हुन लागेको बताइएको छ। 

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न उद्योग वाणिज्य संघ डडेल्धुराले उक्त महोत्सव आयोजना गर्न लागेको हो। महोत्सवले डडेल्धुराका ऐतिहासिक, पुरातात्विक सांस्कृतिक धार्मिक एवं पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्ने उद्योग वाणिज्य संघ डडेल्धुराले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। 

महोत्सवमा लघु उद्यम प्रदर्शनी, कृषि उत्पादन, गार्मेन्ट, जुत्ताचप्पल, वैल्पिक उर्जा, गुणस्तरीय दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, उपकरण यान्त्रिकरण सूचना प्रविधि तथा इलेक्ट्रोनिक्स, शिक्षा स्वास्थ्य क्षेत्रका सेवाहरू, लोकदोहरी हाँस्यव्यंग्य, स्थानीय लोक देउडा तथा नृत्य र साँस्कृतिक कार्यक्रम, स्थानीय उत्पादन हेर्न पाइने संघका अध्यक्ष लोकराज भट्टले बताए। 

महोत्सवमा बडालको चौलो, मारूनी नृत्य, छलिया नृत्य महिला परूष देउडा, झाँकी प्रदर्शन गरिने जनाइएको छ। महोत्सवमा माणा, रोटी, कोदाको रोटी, डुब्कालगायतका डोटेली खानाका विशेष परिकारहरू रहने उनले बताए। महोत्सवमा राष्ट्रिय कलाकारसँगै सुदूरपश्चिम प्रदेशका कलाकारहरूको महोत्सवमा प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ। 

महोत्सवमा २०१ स्टल रहने जनाइएको छ। महोत्सव सफल पार्नका लागि विभिन्न समितिहरू गठन गरिसकेको अध्यक्ष भट्टले बताए। अमरगढी नगरपालिका ४ टुँडिखेलमा आयोजना हुने महोत्सवमा सर्वसाधारणका लागि ६० विद्यार्थीका लागि ४० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ।

महोत्सवको टिकटबाट उठने शुल्कको १० प्रतिशत रकम डडेल्धुरा बहुमुखी क्याम्पसमा प्रविधिक शिक्षा संचालन गर्न र डडेल्धुरामा हावाइ मैदान निर्माणका लागि खर्च गरिने आयोजकले जनाएको छ। महोत्सव आयोजना गर्दा ५० लाख खर्च हुने डडेल्धुरा उद्योग वाणिज्य संघको अनुमान छ।

साथै पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघको निर्वाचित पछि मनोनित गर्नुपर्ने सदस्यहरूमा नेत्रप्रसाद अवस्थी, गणेशप्रसाद भट्ट र मीना फुलारालाई मनोनित गरिएको जानकारी दिइएको छ। 

कमेन्ट लोड गर्नुस