सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयरल्याण्डको नाटकीय जित, विश्व च्याम्पियन वेस्ट इण्डिज ४ रनले पराजित

२०७६ माघ २, ०८:४९ खबर संवाददाता

वेस्ट इण्डिज भ्रमणमा रहेको आयरल्याण्डले टी–२० मा नाटकीय जित निकालेको छ। विश्व च्याम्पियन वेस्ट इण्डिजमाथि चार रनको रोमाञ्चक जित निकाल्दै आयरल्याण्डले तीन खेलको सिरिजमा एक–शून्यको अग्रता लिएको छ।  

पउल स्टर्लिङले ४७ बलमा ९५ रन बनाएपछि पहिला ब्याटिङ गरेको आयरल्याण्डले सात विकेटको क्षतिमा दुई सय ८ रन बनाएको थियो। पछिल्ला क्रमका ब्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न नसके पनि ओपनर स्टर्लिङ र केभिन ओ ब्रइनले पहिलो विकेटका लागि एक सय ५४ रनको साझेदारी गरे।

यो साझेदारी आयरल्याण्डका लागि कुनै पनि फर्म्याटको क्रिकेटमा सर्वा्धिक साझेदारी हो। स्टर्लिङले ६ चौका र आठ छक्का प्रहार गरेका थिए। उनलाई साथ दिएका ओ ब्रइनले पनि ३२ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ४८ रनको योगदान दिए।

बलिङतर्फ वेस्ट इण्डिजका लागि शेल्डन कोट्रेल, ख्यारी पाइरे र ड्वाइन ब्राभोले दुई–दुई विकेट लिए। दुई सय ९ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले राम्रो प्रदर्शन गरे पनि खेलको अन्तिम ओभरमा नाटकीय ढङ्गले पराजित भयो। आयरल्याण्डका जोशुवा लिटिलले दुई विकेट लिएपछि वेस्ट इण्डिज पराजित भएको हो।

अन्तिम ओभरमा वेस्ट इण्डिजलाई जितको लागि १३ रन चाहिएको थियो र हातमा पाँच विकेट बाँकी थियो। तर लिटिलले २०औँ ओभरको पहिलो बलमा शेर्फान रुथरफोर्डलाई र पाँचौँ बलमा ड्वाइन ब्राभोलाई आउट गरेपछि आयरल्याण्डको जित सुनिश्चित भएको हो। 

यो दुई विकेटसँगै लिटिलले तीन विकेट र क्रेग योङ्ले दुई विकेट लिए। खेलको १९औँ ओभर गरेका योङ्ले पनि उत्कृष्ट बलिङ गरे। उनले जम्मा तीन रन दिँदै एक विकेट पनि हात पारे। 

वेस्ट इण्डिजका लागि इभिन लुइसले २९ बलमा ६ चौका र तीन छक्काको सहयोगमा ५३ रन बनाए भने शिमरन हेटमायरले २८, केइरन पोलार्डले ३१, निकोलास पुरन तथा रुथरफोर्डले २६–२६ रन बनाएका थिए।  यसअघि भएको तीन एकदिवसीय सिरिज भने वेस्ट इण्डिजले ह्वाइट्वास गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस