सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको हिलाम्मे सडकः स्थानीय सरकारले ध्यान नदिएपछि प्रशासनले सफा गरिदियो

२०७६ पुष २८, ०४:२७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा पर्ने तुफानडाँडा–प्रशासन सडकखण्ड हिलाम्मे भएको महिनौ बित्दासमेत स्थानीय सरकारले ध्यान नदिएपछि जिल्ला प्रशासन आफैले सफा गरेको छ। 

सडक निर्माणका क्रममा खानेपानीका पाइपहरु काटिएकाले उक्त सडक हिलाम्मे भएको थियो। साथै साना शहरीको खानेपानी आयोजनाले पाइप हाल्न खाल्डो खनेकाले उक्त सडकको अवस्था झनै कुरुप बनेको थियो।

वर्षात र हिमपातका कारण सडक हिलाम्मे भएपछि  यहाँका स्थानीयहरुलाई आवतजावत गर्न निकै समस्या भएको थियो।  सडक दुराअवस्था भएपछि स्थानीयहरुले अमरगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयको चर्को आलोचना गरेका थिए।

त्यसपछि  प्रशासनले अमरगढी नगरपालिका र लाई पटक–पटक आग्रह गरेपनि उसले वेवास्ता गर्दै आएको थियो। जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सडक मर्मतको कार्य आफ्नो नभएकोले स्थानीय सरकारले ध्यान दिनुपर्ने बताएको थियो।

पटक–पटक आग्रह गर्दा समेत अमरगढी नगरपालिकाले ध्यान नदिएपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आफ्नै पहलमा स्काइभेटर लगाएर सडकको हिलो सफा गरेको छ। स्थानीयले जिल्ला प्रशासनको आलोचना र अमरगढी नगरपालिकाले सडक सफा गर्नेमा ध्यान नदिएपछि  प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल आफै अग्रसर भएर हिलो सोर्ने र ग्राभेल गर्ने काम गरेका छन्। 

सडकको हिलो सफा गर्न प्रमुख जिल्ला अधिकारी पौडेलसँगै प्रहरी नायव उपरीक्षक दधिराम न्यौपाने पनि दिनभर सडकमै व्यस्त थिए। सडकको हिलो सफा गर्न सडक निर्माण कम्पनी, साना सहरी खानेपानी आयोजना र सम्बन्धित निकायसँग पटक–पटक आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

'यो अमरगढी नगरपालिकाको क्षेत्राधिकार भित्रको कुरा हो, नगरपालिकाले ध्यान दिनुपर्छ।’ उनले भने, ‘हामीसँग न स्रोत साधन छ न त स्काइभेटर छ। त्यसैले स्रोत साधन र जिम्मेवारी लिएर बसेको अमरगढी नगरपालिकाले ध्यान दिन जरुरी छ।’

कमेन्ट लोड गर्नुस