सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको बाह्र वनको नयाँ व्यवस्थापन समिति गठन गर्न मन्त्रालयको निर्देशन

२०७६ पुष २७, ०६:५१ कमल सावद

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीको बाह्र वनको व्यवस्थापन समिति परिवर्तन गर्न निर्देशन दिएको छ। वनमा आर्थिक अनियमितता भएको भन्दै छानविन थालेको मन्त्रालयले झण्डै नौँ महिनापछि व्यवस्थापन समिति फेरबदल गर्न डिभिजन वन कार्यालय धनगढीलाई निर्देशन दिएको हो।

मन्त्रालयमा पेश भएको बाह्र वनको अध्ययन प्रतिवेदनका आधारमा गत विहिबार मन्त्रालयले सात बुँदे निर्णग गर्दै उक्त निर्देशन दिएको हो। बाह्र वन साझेदारी वनको व्यवस्थापन समिति आउँदो असार भित्र परिवर्तन गर्न निर्देशन भएको मन्त्रालयले जनाएको छ।

डिभिजन वन कार्यालयलाई लामो समयदेखि पटक–पटक म्याद थपिएको भन्दै समिति परिवर्तन  गर्न निर्देशन दिएको  मन्त्रालयका सूचना अधिकारी भरतप्रसाद श्रेष्ठले जानकारी दिए।   यस्तै छानविन प्रतिवेदनमा उल्लेख भए अनुसार व्यक्तिका नाममा रहेको ६८ हजार दुई सय रुपैँया, आर्थिक वर्ष २०७४÷०७५ मा विभिन्न निकायलाई दिईएको एक करोड पाँच लाख र ०७५÷०७६ को ५८ लाख पेश्की को रकम पनि असुल गर्न पनि निर्देशन भएको श्रेष्ठले बताए।

वनको खाता सरकारी स्वामित्वको बैँकमा खोल्न, मौज्दात काठ–दाउरा  साझेदारी बीच बाँडफाड गर्न, समुहको विधान, कार्य योजना, विद्यामान नियम कानूनको परिधी भित्र रहेर कार्य सम्पादन गर्ने गरी  खाता फुकुवा गर्न र छानविन प्रतिवेदनले आँैल्याएका सुझाव कार्यान्वयन गर्न निर्देशन दिईएको पनि श्रेष्ठले जनाए। 

२०७५ साल २७ चैतमा डिभिजन वन कार्यालय कैलालीले बाह्र वन साझेदारी वनलाई कुनै पनि काम नगर्न पत्रचार गरेको थियो। गत चैत्रबाट साझेदारी वनको खाता पनि रोक्का गरिएको थियो। उक्त विषयमा प्रदेशसभाको प्राकृतिक स्रोत समितिले पनि छानविन गरी प्रतिवेदन बुझाएको थियो।

प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीको संयोजकत्वमा गठित उपसमितिले मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो। उप समितिको प्रतिवेदनपछि मन्त्रालयले पनि छानविन समिति गठन गरेको थियो। प्रदेश वन निर्देशनालयका प्रमुख हेमराज विष्टको संयोजकत्वमा २ साउनमा गठन भएको समितिले बुझाएको प्रतिवेदन मन्त्रालयले लुकाएको थियो।

आईबार भने दिनेश खबरलाई मन्त्रालयले गरेको निर्णयको बारेमा जानकारी दिएको हो। यसअघि मन्त्रालयले छानविन प्रतिवेदन सार्वजनिक गर्न ढिलाई गर्दा वनको सबै काम ठप्प भएको थियो। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस