गोदावरीका लागि केन्द्र सरकारले चार वर्षमा तीन करोड खर्च गर्यो, स्थानीय सरकारले शुन्य
धनगढी: सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल गोदावरी धामको विकासका लागी चार वर्षको अवधिमा तीन करोड बजेट खर्च गरिएको छ। संघीय सरकारका विभिन्न निकायले गोदावरी धामको विकासका लागि चार वर्षमा तीन करोड बजेट खर्च गरेका हुन्।
उक्त बजेट धाम क्षेत्रमा आवश्यक पर्ने संरचना विस्तार गर्न र प्रचार प्रसारमा पनि खर्च गरिएको बताइएको छ। गोदावरी धामको विकासका लागि गुरु योजना बनाई संघीय सरकारको सघन शहरी विकास कार्यक्रम अन्तरगत २०७२ सालदेखि बजेट छुट्टयाएर कार्यान्वयन गर्दै आइएको थियो।
गोदावरी क्षेत्रको विकासका लागि पहिलो वर्ष ४५ लाख बजेट विनियोज गरिएकोमा वर्षेनी बजेटको आकार वृद्धि गरिदै लगिएको थियो। २०७३ सालमा ६० लाख, २०७४ मा एक करोड विनियोजना भएकोमा ४० लाख मात्रै खर्च भएको थियो भने वाँकि बजेट फिर्ता गएको थियो। २०७५ सालमा पनि ६० लाख विनियोजन गरिएपनि ५० लाख मात्रै खर्चको भएको थियो।
यस्तै चालु वर्षका लागि पनि ५० लाख बजेट विनियोजना भएको संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी तथा ईन्जिनियर श्यामचन्द्र बुढाथोकीले बताए।
चार वर्षको अवधिमा गोदावरीका लागि संघीय सरकारले सघन सहरी विकास कार्यक्रम मार्फत दुई करोड ४५ लाख खर्च गरेको उनले बताए। यस्तै संघीय सरकारको जलउत्पन्न प्रकोप डिभिजन कार्यालयले १० लाख, पर्यटन विकास बोर्डले १७ लाख तथा खानेपानी विभाग लगायतका अन्य निकायहरु भौतिक संरचना निर्माणमा सहयोग गरिरहेका छन्।
चार वर्षको अवधिमा तीन करोड खर्च गर्दै धाम क्षेत्रमा कैवल्ले नाथको मन्दिर, कुम्भ वाटिका, दुई वटा यज्ञशाला, एक मञ्च ३० वटा शौचालय, गणेश र विष्णुको मन्दिर निर्माण, विष्णु पादुका, बाटो निर्माण, भर्याङ, रेलिङ, खानेपानीको वोरिङ स्थापना, सोलार जडान, गुरुकुल संस्कृत विद्यापिठ पढाई सुरु गरिएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए।
तर ती बजेटबाट नदि कटान नियन्त्रण गर्ने प्रयास विफल भएको जोशीले बताए। गोदावरी धाम क्षेत्रको मुख्य चुनौतीका रुपमा नदी कटान देखिएको छ। उनले गोदावरीधाममा प्रदेश र स्थानीय सरकारले वेवास्ता गरेको गुनोसो गरेका छन्। ‘संघीय सरकारले गुरुयोजना बनाएर धामको विकासमा लागेका बेला प्रदेश र स्थानीय सरकारले भने कुनै सहयोग गरेका छैनन्’ उनले भने।
तत्कालिन गोदावरी गाविसले धामको विकासका लागि साढे एक लाख बजेट छुट्याएपनि स्थानीय तह आएपछि बजेट विनियोजन नभएको उनले बताए। प्रदेशको समाजिक विकास मन्त्रालयले भने चालु वर्षमा गुरुकुल संस्कृत विद्यापिठको भवन निर्माणका लागि ४० लाख विनियोजन गरेको जोशीले बताए।
गोदावरी धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नको लागि विभिन्न प्रयासहरु भईरहेका छन्। तर प्रदेश र स्थानीय सरकारले अपनत्व ग्रहण गर्न नसक्दा गोदावरी धामको पूर्वाधार विकास आपेक्षकृत रुपमा नभएको गुनासो गरिदै आएको छ।
धाममा अहिले वर्षेनी आन्तरिक र बाह्य गरी झण्डै १५ लाख पर्यटक अवलोकनका लागि पुग्ने गरेका छन्।
धामले विगतमा पितृ श्राद्धको लागि भारतको हरिद्धार जानुपर्ने बाध्यताको अन्त्य गरेको छ। वर्षेनी झण्डै १० हजारले गोदावरीमै पितृ श्राद्ध गर्ने गरेका छन्। यो संगै विवाह, व्रर्तबन्ध वनभोज लगायतका अन्य कार्य लागिपनि गोदावरी क्षेत्र प्रमुख रोजाईमा पर्ने गरेको छ।
गोदावरी धाममा प्रत्येक १२ वर्षमा लाग्ने कुम्भ मेला र हरेक वर्ष माघमा हुने बाह्राशी दर्शन मकर मेला भर्न पनि हजारौँ दर्शानार्थी त्यहाँ पुग्ने गरेका छन्। यो वर्ष पनि गोदावरी धाम विकास समितिले मकर मेलाको तयारी तिव्र बनाएको छ।