कैलालीको गोदावरी धाममा मकर मेला लाग्ने
कैलालीको गोदावरी धाममा बाह्राशी दर्शन मकर मेला लाग्ने भएको छ। प्रत्येक वर्ष कुनै न कुनै राशिमा कुम्भ मेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्राशी दर्शन मकर मेला आयोजना गर्न लागिएको हो। माघ १ गतेदेखि १२ गते सम्म मकर मेला संञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ।
मेलामा विभिन्न व्यक्तिहरुले आ–आफ्नो राशि र नक्षेत्रको दर्शन, पूजा गर्नुका साथै ग्रहको कुप्रभावबाट स्वस्थ रहन ग्रह पुजन, जप, लक्ष्यहोम, तर्पण, मार्चन लगायत प्रत्येक दिन रुद्राविशिक सहित ध्यान कार्यक्रम पनि सञ्चालन गरिने गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए। मेला अवधिभर ४ लाख देखि ५ लाख भक्तजनहरुले अवलोकन गर्ने अपेक्षा गरिएको उनले बताए।
सुदूरपश्चिमको संस्कृति संरक्षणका साथै धार्मिक पर्यटन प्रबद्र्धन गदैँ आर्थिक समृद्धिमा समेत टेवा पुग्ने उद्येश्यले मेला लगाउन लागिएको आयोजकले विश्वास लिएको छ। भ्रमण बर्ष २०२० लाई सहयोग पुग्ने समेत मेला आयोजक समितिले जनाएको छ।
माघ १ गते मकर, माघ २ गते कुम्भ, माघ ३ गते मीन, ४ गते मेष, ५ गते वृष, ६ गते मिथुन, ७ गते कर्कट, ८ गते सिंह, ९ गते कन्या, १० गते तुला, ११ गते वृश्चिक र १२ गते धनु राशिहरुका लागि विशेष पुजा गर्न व्यवस्था मिलाईएको आयोजकले जनाएको छ।