सुदूर नेपाललाई विश्वसँग जोड्दै

१० वर्षदेखि आवेदन दिएका सुदूरपश्चिमका १५ हजार युवा अझै बेरोजगार

२०७६ पुष १७, ११:२९ कमल सावद

रोजगारीका लागि १० वर्षदेखि आवेदन दिएका सुदूरपश्चिमका १५ हजार युवा अझै बेरोजगार रहेका छन्। २०६६ सालमा स्थापना भएको रोजगार सूचना केन्द्रमा बेरोजगार फारम भरेका झण्डै १५ हजार युवाले अझै रोजगारी नपाएका हुन्।

प्रदेश सरकारले रोजगारीका लागि विदेश पलायन हुनुपर्ने बाध्यताको अन्त्य गर्ने दावी गरेका बेला वषौँ पहिलेदेखि रोजगारीका लागि फारम भरेकाहरु नै वेरोजगार रहेका छन्। २०६६ सालमा स्थापना भएको रोजगार सूचना केन्द्रको तथ्याङक अनुसार हाल सम्म सुदूरपश्चिमका नौ वटै जिल्लाबाट झण्डै १५ हजार युवाले बेरोजगार फारम भरेको देखिन्छ। ती मध्ये १४ हजार तीन सय ७६ युवाले अझै रोजगारी पाउन नसकेका हुन्।

२०७४ सालमा बेरोजगार फारम भरेका दार्चुलाका युवा पदमसिंह धामीले फारम भरेका थिए तर उनी अहिले पनि बेरोजगार छन्। उनले आफूले फारम भरेको कुरा समेत बिर्सिसकेका छन्। उनले रोजगार सूचना केन्द्रले विभिन्न नीजी कम्पनीमा रोजगार नदिन सकेको गुनसो गरे।

सूचना केन्द्र अहिले प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतमा छ। केन्द्रले नीजि क्षेत्रसंगको समन्वयमा रोजगारी दिने प्रयास भईरहेको जननाएको छ। सूचना केन्द्र मार्फत रोजगारी पाएकी धनगढीकी चन्द्र बोहोरा अहिले अपसेट प्रेसमा काम गर्दै छन्। उनले फारम भरेको पाँच महिना पछि काम भएको बताईन्। सूचना केन्द्रले युवाहरुलाई उद्योग, कारखाना, मिल, विभिन्न कम्पनीहरुमा बजार व्यवस्थापन, होटलहरु लगायतमा रोजगारी दिलाउने हो।

गत आर्थिक वर्षमा एक लाख ६० हजार खर्चेर बाजुरामा भएको रोजगार मेलाबाट २७ युवालाई रोजगारी दिलाइएको थियो भने अन्य बाँकी युवाले रोजगार पाएका छैनन्। चालु आर्थिक वर्षमा पनि ६ लाख कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले विनियोजन गरेको छ। रोजगारीका लागि भारत जानु नपर्ने दावि गर्दै आएको सुदूरपश्चिम सरकारले स्वरोजगार नीति निर्माण गर्न पनि ढिलाई गरेको छ।

नीति निर्माणमा पनि ढिलाई भएपछि प्रदेश सरकार युवाप्रति जिम्मेवार नभएको गुनासो गरिएको छ। तर प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको रोजगार सूचना केन्द्रका प्रमुख चम्पा जोशीले नीजि क्षेत्रहरुसंग रोजगारी प्रदानका लागि समन्वय हुँदै आएको बताईन्। नयाँ उद्योग सञ्चालन हुने क्षेत्रमा हामी जाने गरेका छौ।’जोशीले भनिन्, ‘फारम भरेका युवाहरु र उनीहरुलाई चाहिएको कामदारको सीपको बारेमा जानकारी दिन्छौ। बजार व्यवस्थापनमा धेरैलाई पठाएका छौ। केही मिलहरुमा पनि कामदार पठाएका छौ।’

युवाहरुले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न प्रदेश र स्थानीय सरकारले समेत चासो नलिएको गुनासो गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूले लामो समय भारतमा रोजगारी गरेको भन्दै अब भने त्यस्तो अवस्था आउन नदिने आश्वासन दिएका थिए। तर त्यो आश्वासन पनि आश्वासनमै सीमित भएको गुनासो गरिएको छ।

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस