बाजुरामा खोपसेवाबाट बालबालिका वञ्चित
जिल्लाको पूर्वी उत्तरी भेगमा पर्ने कोल्टी क्षेत्रका बालबालिका नियमित खोपसेवाबाट वञ्चित भएका छन्। बाजुराको पूर्वोत्तर चार वटा स्थानीय तहका बालबालिकालाई खोप दिन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको फ्रिज बिग्रदा सो क्षेत्रका करीब सय भन्दा बढी बालबालिका खोपसेवाबाट वञ्चित भएका हुन्। जन्मेदेखि १२ महिनासम्म बालबालिकाले अनिवार्य मासिक खोप लगाउनुपर्ने हुन्छ।
भविष्यमा हुने विभिन्न रोगका सङ्क्रमणबाट नियमित खोप पाउनुपर्ने भए पनि दुर्गम गाउँका बालबालिका त्यो सुविधाबाट वञ्चित भएका हुन्। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा रहेको फ्रिज र मेसिन बिग्रिएपछि यो महिना खोप दिन नसकिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक सिंहले बताए। कोल्टी क्षेत्रमा एक नगरपालिका र तीन गाउँपालिका गरी चार स्थानीय तह रहेका छन्। पुस पहिलो साता सञ्चालन भएको खोप सेवाबाट तीन स्थानीय तहमा खोप सञ्चालन भए पनि हिमाली गाउँपालिकामा भने खोप सेवा सुरु नै हुन सकेन।
“भ्याक्सिन राख्ने फ्रिजले आइस बनाउन सकेको छैन, यसले भ्याक्सिन सुरक्षित हुँदैन, यो नबनाउँदासम्म खोप सेवा सञ्चालन गर्न सकिदैन”, केन्द्रका निमित्त प्रमुख ओमजङ्ग शाहीले भने, “फ्रिज बिग्रेको कुरा जिल्लामा खबर गरेका छौं। त्यहाँबाट प्राविधिक आएर फ्रिज बनाएपछि मात्र सेवा सुरु हुन्छ।” केन्द्रले मेसिन बिग्रे÷नबिग्रेको र कस्तो अवस्थामा छ भन्नेबारे कुनै जानकारी नै नराखी अन्तिममा आएर मेसिन बिग्रिँदा खोप दिन नसकेको बताएपछि स्थानीयवासी आक्रोशित बनेका छन्। विगत महिना जस्तै यो महिना पनि खोप सेवाका लागि महिला बालबालिका तयार थिए तर गाउँमा खोप नै नपुगेको गुनासो स्थानीयवासीको छ।
हिमाली गाउँपालिका जिल्लाकै सार्वाधिक विकट र दुर्गमममा पर्दछ। फ्रिज बिग्रेर खोप सेवा सञ्चालन नहुँदा कोल्टी क्षेत्रका करिब १०० भन्दा बढी बालबालिका खोप लगाउनबाट वञ्चित बनेका छन्। तर स्वास्थ्य कार्यालय बाजुराले भने यस महिनाको पूर्ति अर्को महिनामा भए पनि गर्ने बताएको छ। जिल्ला अस्पतालबाट भ्याक्सिन मगाएर भए पनि सेवा दिने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जानकारी दिएको छ।
स्थानीय तहले फ्रिजको अवस्थाबारे समयमै खबर गरेन, यो स्थानीय तहकै जिम्मेवारी हो, स्वास्थ्य संयोजक र कर्मचारीले पनि थाह पाउने विषय भए पनि सामाजिक विकास मन्त्रालयलाई भनेर तत्काल सेवा सञ्चालन गर्ने दाबी स्वास्थ्य कार्यालयको छ। तर मेसिन पूर्णरुपमा बिग्रिएकाले मर्मतका लागि केन्द्रीय मेडिकल स्टोरबाटै प्राविधिक आएर मात्र मर्मत गर्न सकिने बताइएको छ।
रोगसँग लड्ने क्षमता विकास र प्रतिरोधात्मक शक्ति विकासका लागि नियमित लगाइने खोपबाटै बालबालिकालाई वञ्चित गरिनु ठूलो लापर्वाही र बालअधिकार माथिको हनन् भएको आरोप सर्वसाधारणको छ। उसो त कोल्टी क्षेत्रमा हरेक वर्ष फ्रिज मेसिन बिग्रिँदा खोप सेवा प्रभावित हुने गरेको छ। यो पटक हिमाली गाउँपालिकाका एक सय बढीको सङ्ख्यामा वञ्चित भएको बताए पनि स्वास्थ्य कार्यालय प्रमुख अशोक सिंहले भने ५५ बालबालिकाले खोप नपाएको स्वीकार गरेका छन्।
सामाजिक विकास मन्त्रालयको नियमित अनुगमन नहुनु र स्थानीय जनप्रतिनिधि स्वास्थ्य सेवामा बेखबर जस्तै हुँदा यो समस्या आउने गरेको छ। गाउँपालिकालाई आफैँले आवश्यक रेफ्रिजेनेटर चलाउन सक्ने विद्युतीय स्रोत नभएको हिमाली गाउँपालिकाले बताएको छ। खोप अति नै संवेदनशील सेवा हो। यसको प्रभावपछि गएर मात्र देखिने हुँदा समयमै ध्यान दिन स्वास्थ्यकर्मीकै सुझाव छ। भ्याक्सिन स्टोरेज गर्न २४सै घण्टा कोल्डचेन मेन्टेन गर्नुपर्ने हुन्छ। यसका लागि २५ डिग्रीसम्मको तापक्रम कायम राख्नसक्ने क्षमताको रेफ्रिजेनेटर र सोहीअनुसारको विद्युत् आवश्यक हुन्छ। प्रदेश सरकार र स्थानीय सरकार कसैले पनि वास्ता नगरेको स्वास्थ्यकर्मीको आरोप छ। रासस