धनगढीमा संघिय सरकारले निर्माण गर्ने सडकको काम सुस्त
बैशाखदेखि निर्माण थालिएको धनगढी उप–महानगरपालिका वडा नम्बर ५ को तारानगरदेखि दु्रत मार्गको धनगढी–स्याउले खण्ड जोड्ने सडकको काम अहिले ठप्प छ। संघिय सरकारको सघन सहरी विकास कार्यक्रम अन्तरगत कालोपत्रे हुने उक्त सडक खण्डको काम दशंैदेखि ठप्प रहेको हो। ‘सडक कालोपत्रे भएपछि आवतजावत गर्न सहज हुन्थ्यो,’ स्थानीय जुगलाल चौधरीले भने, ‘निर्माण कार्यमा ढिलाई हुँदा समस्या भईरहेको छ।’
सडक कालोपत्रे गर्ने जिम्मा पाएको लामा खड्का कृष्ण जेभी भने बन कार्यालय, विद्युतका पोल र खानेपानीका पाईपलाईनका सडक निर्माणमा ढिलाई भएको दावी गर्दै आएको छ। निर्माण कम्पनीका सव–ईन्जिनियर प्रमोद मण्डलले सडकको क्षेत्राधिकार नै खाली नहुँदा समस्या रहेको बताए।
संघीय सरकारको बजेटमा सघन सहरी विकास कार्यक्रम मार्फत सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइले रुख, विद्युतका पोलको व्यवस्थापन नगरि अधिकासं सडक कालोपत्रे गर्दै आएको छ। दोस्रो प्याकेजमा कालोपत्रे भईरहेको ४० किलोमिटर सडकमा पनि सोही समस्या देखिएको छ।
अहिले सघन सहरी विकास कार्यक्रम बाहेक अन्य विभिन्न कार्यक्रम मार्फत संघीय सरकारले कार्यान्वयन गर्नुपर्ने सडकको काम पनि अलपत्र रहेको छ। तर सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइले भने अधिकासं सडक कालोपत्रेको चरणमा रहेको दावी गरेको छ।