गोदावरी क्षेत्रमा लगाइएका व्यापारिक होडिङबोर्ड हटाउन नगरपालिकालाई ध्यानाकर्षण
कैलाली: नेपाल भ्रमण वर्ष २०२० सुरु हुनै लाग्दा कैलालीको गोदावरी नगरपालिकाले पर्यटकिय क्षेत्रको प्रचार प्रसारको साटो व्यापारिक विज्ञापनमा जोड दिइएको भन्दै आपत्ति जनाईएको छ। सुुदूरपश्चिमको राजधानी समेत रहेको पर्यटकिय स्थल गोदावरी धाममा व्यापारिक विज्ञापन लगाई पर्यटकिय क्षेत्रको सोभा घटाएको भन्दै ती होडिङबोर्ड तत्काल हटाउन अखिल क्रान्तिकारीले माग गरेको छ।
मंगलबार अखिल क्रान्तिकारी कैलाली जिल्ला संगठनले अत्तरिया चौराहामा लगाएको व्यापारिक विज्ञापन हटाईनुपर्ने भन्दै नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ।
उक्त क्षेत्रमा चाउचाउका तथा व्यापारिीक प्रयोजनका लागि विभिन्न कम्पनीहरुलाई नगरपालिकाले ठुला होडिङबोर्ड लगाउन अनुमति दिएको छ। जसले यस क्षेत्रको पहिचान तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसारको सट्टा पर्यटकिय क्षेत्रको अस्तित्व धरापमा पर्दै गएको भन्दै व्यापारिक होडिङबोर्ड तुरुन्त हटाउन नगरपालिकाको ध्यानाकर्षण गरिएको संगठनका अध्यक्ष पुस्पराज जोशीले बताए।
उता ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख हरीसिंह साउँदले विभिन्न क्षेत्रमा लगाइएका व्यापारिक होडिङबोर्ड हटाउन लगाइने बताए। उनले प्रर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० को स्वागतका लागि नगरपालिका तमतयार रहेको समेत बताए।