देउवाकै गृह जिल्लामा कार्यकर्ताद्वारा स्व. भट्टराईको जन्मजयन्ती कार्यक्रम बहिस्कार
डडेल्धुरा: डडेल्धुरामा सोमबारदेखि शुक्रबारसम्म विविध कार्यक्रमका साथ नेपाली कांग्रेसका संस्थापक तथा पुर्वप्रधानमन्त्री सन्तनेता स्व. कृष्णप्रसाद भट्टराईको ९६औं जन्मजयन्ती भव्यताका साथ मनाइएको छ। नेपाली काँग्रेस डडेल्धुरा जिल्ला कार्यसमितिको आह्वानमा नेपाली कांग्रेस नवदुर्गा गाउँपालिका–१ वडा कार्यसमितिको आयोजनामा चार दिनसम्म विभिन्न कार्यक्रमको आयोजनागरि भव्यरुपमा जन्मजयन्ती मनाइएको हो।
सोमबार सन्तनेता भट्टराईको ९६औं जन्मजयन्तीका अवसरमा नवदुर्गा गाँउपालिका–१ कोटेलीमा नेपाली काँग्रेस ललितपुरका सभापति तथा सन्तनेता भट्टराईका अनुयायी मदनबहादुर अमात्यको प्रमुख आथित्यमा स्व. भट्टराईप्रति श्रञ्दाञ्जली अर्पण गर्दै चारदिने कार्यक्रम शुभारम्भ गरिएको थियो।
विविध सांस्कृतिक कार्यक्रम, सन्तनेता भट्टराईका बारेमा प्रवचन कार्यक्रम र बृहत खेलकुद प्रतियोगिताको आयोजना गरेर भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको आयोजक नेपाली कांग्रेस नवदुर्गा गाउँपालिका–१ वडा कार्य समितिले जनाएको छ।
नेपाली कांग्रेस डडेल्धुराको आह्वानमा आयोजना गरिएको सो कार्यक्रममा डडेल्धुरा जिल्लामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकटस्थ नेता तथा कार्यकर्ताहरुले भने सहभागिता जनाएनन्। डडेल्धुरामा आफुलाई सभापति देउवा निकट रहेको दाबीगर्दै आएका र सभापति देउवाका विश्वास पात्र मानिने जिल्ला कार्यसमितिका पदाधिकारीहरु, जिल्लास्तरीय र स्थानीय स्तरमा क्रियाशिल नेता कार्यकर्ताहरु सन्तनेता भट्टराईको जन्मजयन्तीका अवसरमा सहभागीन भएको विषयले निकै चर्चा पाएको छ।
“पार्टी सभापति शेरबहादुर देउवाको राजनीतिक जीवनमा सबैभन्दा कठिनाई परेका बेला कुशल अभिभावकत्व प्रदान गरेर पहिलोपटक मुलुकको प्रधानमन्त्री बनाउन भूमिका निर्वाह गर्नुभएका सन्तनेता स्व. भट्टराईको ९६औं जन्म जयन्ती भक्तपुरको बोडेगाँउमा जस्तै डडेल्धुरामा पनि भव्य रुपमा सम्पन्न भएकोछ” कार्यक्रममा सहभागी हुन कोटेली पुगेका परशुराम नगरपालिका– ७ का नेपाली कांग्रेस वडा सभापति बिरबहादुर थापा मगरले भने, “आफुलाई सभापति देउवा निकट बताउने नेता कार्यकर्ताहरु कार्यक्रममा सहभागी नहुनु निकै बिडम्बना हो।
केन्द्रीय सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरावासी सबैका नेता भएको उल्लेख गर्दै नेपाली कांग्रेस डडेल्धुराका पाका नेता तारादत्त पनेरुले पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी नहुने र सहभागी नहुन कार्यकर्ताहरुलाई उर्दी जारी गर्ने केहि व्यक्तिहरुका कारण डडेल्धुरामा कांग्रेस कमजोर हुँदै गएको बताए। सभापति देउवाले त्यस्ता व्यक्तिहरुलाई पहिचान गरेर कारवाही गर्नुको साटो संरक्षण गरिरहेको कार्यकर्ताहरुको गुनासो छ।
सन्त नेता भट्टराईको जन्मजयन्ती भव्य रुपमा सम्पन्नगर्न डडेल्धुरा पुगेका नेपाली कांग्रेस ललितपुरका सभापति नेता अमात्यले आफुले ४० वर्षसम्म सन्तनेता भट्टराईको सानिध्यमा रहेर कामगर्ने अवसर प्राप्त गरेको बताउदै सन्तनेता भट्टराई नेपाली राजनीतिको जज्वल्यवान नक्षत्र भएको जिकिर गरे। उनले पार्टीका केन्द्रीय सभापति देउवाकै गृहजिल्लामा पार्टीभित्र गुटबन्दी मौलाउनु निकै दुःखद भएको जिकिरगर्दै पार्टी पंक्तिलाई एकढिक्का बनाउन सभापति देउवालाई आग्रह गरे।
नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले सन्तनेता स्व. भट्टराईले २०४६ सालको संविधान ६ महिनामै घोषणा गरेर इतिहासको जिम्मेवारी निर्वाह गरेको स्मरण गरे। शुक्रबार भव्य समारोहका बीच नेपाली कांग्रेस डडेल्धुराका उपसभापति करुणाकर भट्टसहित जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम समापन गरिएको थियो।