सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सघन सहरी मार्फत कालोपत्रे भएको सडक एक बर्ष नपुग्दै भत्कियो

२०७६ पुष १२, ०३:१२ भुवन भट्ट

धनगढी- सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा संघीय सरकारको सघन सहरी विकास कार्यक्रम मार्फत कालोपत्रे भएको सडक एक बर्ष नपुग्दै भत्किएको छ। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइले कालोपत्रे गरेको धनगढीको तुलसिचोक–भगवती टोल हुदै कैलाली गाउँ जोड्ने सडक एक वर्ष नपुग्दै भत्किन थालेको हो।

विं.स. २०७४ असारमा निर्माण सुरु गरिएको उक्त सडक गत असारमा निर्माण सम्पन्न गरीएको थियो। तर निर्माण कम्पनीले गुणस्तरीय काम नगर्दा सडक भासिदै गएको स्थानीय सुरज बिष्टले गुनासो गरे। ‘१० टनमाथिका गाडी उक्त सडकमा गुडाउन नपाईने भनिएको छ,’ उनले भने, ‘सोही अनुसार १० टन माथिका गाडी सञ्चालन नभएपनि सडक भत्किदै गएको छ।’

निर्माण कम्पनीको लापवाही र संघीय आयोजना कार्यालयको वेवास्ताका कारण सडक भत्किन लागेको स्थानीय ललिता जोशीको गुनासो छ। उनले निर्माण गरीएको एक वर्ष नबित्दै सडक भत्किदा दुर्घटनाको जोखिम बढेको बताईन्। निर्माण सकिएको एक वर्ष नबित्दै सडक भत्कीदा दुर्घटनाको जोखिम त बढेकै छ नै त्यसैमा अहिले सम्म सडक क्षेत्रमा रहेका रुख समेत कटानी नहुँदा थप समस्या भएको स्थानीय करुणकर भट्टले बताए।

पिएस, एडभेन्चर, रोयल कम्पनीलाई उक्त डेढ किलोमिटर सडक निर्माणको जिम्मा दिएको थियो। तर सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाईका ईन्जीनियर दिनेश श्रेष्ठले प्राविधिक त्रुटि नभएको भन्दै सडकको बिचमा परेका रुखहरुले निर्माण कार्यमा असहज भएको बताए। सोही कारण अहिले सडक भत्किएको हुन सक्ने उनको तर्क छ।

भुवन भट्ट, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस