धनगढीमा कार नियन्त्रणमा लिएर लुटपाट गर्ने ६ युवक पक्राउ
धनगढीमा: धनगढीमा कारलाई नियन्त्रणमा लिएर लुटपाट गर्ने छ युवकलाई प्रहरीले पक्राउ गरेको छ। गएराती पौने १० बजेतीर गेटाबाट धनगढीमा आउदै गरेका गेटा बिस्कुट फ्याक्ट्रीका कर्मचारी सुमित भट्टको बा१८च ९६४३ नम्बरको निसान गाडी रोकेर लुटपाट गर्ने छ जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले लुटपाटमा संलग्न कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १४ का १८ वर्षीय अजय भण्डारी, भीमदत्त नगर ३ बस्ने २१ वर्षीय गौरब चन्द, भीमदत्त नगरपालिका ४ को २६ वर्षीय चिरण बम, कृष्णपुर १ का १९ वर्षीय नरेन्द्र साउँद, कृष्णपुर घर भई धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय प्रदीप ऐर र दार्चुलाको मार्मा गाउँपालिका २ घर भएर धनगढी बस्ने १८ वर्षका पारस सिंहलाई पक्राउ गरिएको जानकारी दिए।
उनीहरुले धनगढी आउँदै गरेका बिस्कुट फ्याक्ट्रीका कर्मचारी सुमित भट्टको कार रोकी रड देखाएर मोवाईल लगायतका सामान लुटेका थिए। लुटपाट भए लगतै प्रहरीको एक सय नम्बरमा भट्टले जानकारी गराएका थिए। तत्कालै जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी विट चटकपुरका प्रहरी सहायक निरिक्षक गजेन्द्र चन्दको नेतृत्वमा खटिएको संयुक्त टोलीले धनगढी क्षेत्रबाटै उनीहरुलाई राती नै पक्राउ गरेको हो।
पक्राउ परेका छ जना युवक धनगढीमा हुने अन्य चोरीमा पनि संलग्न भएको आशंका गरिएको छ। उनीहरुको साथबाट प्रहरीले बा६५प ५५९ नम्बरको मोटरसाईकल पनि बरामद गरेको छ। छ जनालाई नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ।