सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा हिउँमाथि पढाई

२०७६ पुष ५, ०५:१२ प्रकाश सिंह

गत साताको हिमपातका कारण बाजुराको हिमाली क्षेत्रका दर्जन बढी विद्यालयको पढाई प्रभावित भएको छ। हिमपातले जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा रहेका अधिकांश विद्यालयको  पढाई प्रभावित भएको हो।

वर्षासंगै तीन दिन सम्मको लगातारको हिमपातका कारण पठनपाठनमा समस्या भएको बडिमालिका नगरपालिका ७ को सरस्वती आधारभुत विद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए। तैपनी विद्यार्थीहरुको पढाई छुट्ने भएकाले जसोतसो गरेर भएपनि अध्यापन जारी राखिएको जनाए।

विद्यालयको आर्थिक स्थिती कमजोर भएका कारण कक्षाकोठाको व्यवस्थापनमा समेत समस्या भएको प्रधानाध्यापक हस्त बहादुर धामीले वताए। दुई दिनमै तीनचार फुट हिउँ जमेको कारण यो वर्ष बढी चिसो छ। स्थानीयलाई दैनिक कामकाज गर्न पनि सकस परेको छ।

हिउँले पूरै गाउँ ढाकेको छ। आगो तापेर बस्नु बाहेकको विकल्प नभएको प्रअधामीले वताए। हिमाली गाउँपालिका, गौमुल गाउँपालिका, बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाका क्षेत्रका अधिकांश विद्यालयका बालबालिका हिमपातका कारण घरमै बस्ने गरेका कारण धेरै ठाउँमा पठनपाठन गर्न नसकिएको शिक्षा समन्वय ईकाइ बाजुराले जनाएको छ।  

शुक्रबारदेखि हिमाली क्षेत्रका विद्यालय बन्द गरिएको भएपनि केही स्थानमा भने दाउरा बालेर भएपनी पढाई सुचारु गरिएको छ। हिमाली गाँउपालिका वडा नम्बर १ २ र ३ बिच्छँयाका धेरै विद्यालय भने बन्द भईसकेका छन्। हिमपातका कारण मार्तडी कोल्टी आवातजावतमा अवरोध भएको छ।

पोरखे लेकमा बाक्लो हिउँ जमेपछी सवारी साधन समेत चल्न सकेका छैनन् भने दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको व्यापारी नवराज कुवँरले बताए। अघिल्लो वर्ष हिमपातका कारण पोरखेमा हिउँ जमेपछी तीन महिना सम्म सडक अवरुद्ध भएको थियो। यस पटक परेको हिउँकै कारण एक हप्ता पछि मात्रै सडक सञ्चालन हुनेसक्ने यातायात व्यवसायी शंकर मल्लले वताए।   

 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस