सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री मार्फत शिलान्यास भएको सहजपुर–बोगटान सडकको इआइए समेत बनेन

२०७६ पुष २, ०७:२३ खबर संवाददाता

कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाउँपालिका जोड्ने सहजपुर–बोगटान सडकको प्रधानमन्त्री मार्फत शिलान्यास भएको ११ महिना सम्म वातावरणीय प्रभाव मुल्याङकन समेत तयार भएको छैन्। गत फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले डोटीको बीपीनगरमा सहजपुर–बोगटान सडक कालोपत्रेको शिलान्यास गरेका थिए।

कालोपत्रेको शिलान्यास भएको ११ महिना पुग्नै लाग्दा समेत कालोपत्रे सुरु हुन त परै जावस योजनाको वातावरणीय प्रभाव मुल्याङकन समेत तयार भएको छैन्। ‘प्रधानमन्त्रीले कालोपत्रको कार्य शिलान्यास गरेसँगै उक्त सडक डबल कटिङ र पक्की नालीको निर्माणको कार्य अघि बढेको थियो,’ सहजपुर–बागटान सडक योजना कार्यालयकी प्रमुख कल्पना अधिकारीले भनिन्, ‘तर अहिले सम्म वातावरणीय प्रभाव मुल्याङकन अर्थात इआइए तयार भएको छैन्। अहिले इआइए स्वीकृत हुने चरणमा छ।’

वातावरणीय प्रभाव मुल्याङकन नै तयार नभएपछि सडक किनारामा रहेका रुख कटानीमा समस्या भएको उनले बताईन्। सडक कालोपत्रको ठेक्का पाएको निर्माण कम्पनी पिआरएल–कुमार जेभीले पनि अन्य काम सकेर कालोपत्रको तयारीमा जुटेको जनाएको छ।

तर सडक किनाराका रुख कटान गर्ने आदेश अहिलेसम्म नआउँदा समस्या भएको पिआरएल–कुमार जेभीका प्रबन्धक ईश्वर बस्नेतले बताए। यसै आर्थिक बर्ष भित्रै २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य भएपनि रुख कटानीको आदेश नआउँदा समस्या भएको उनले बताए।

कैलाली चुरे गाउँपालिका वडा नं २ मा रहेका वन क्षेत्रमा रुख कटानी आदेश नपाइएका कारण काम ढिलो भएको आयोजना कार्यालयले जनाएको छ। कालोपत्र हुने ५० किलोमिटरमध्ये ४१ किलोमिटर सडक वन क्षेत्रमा पर्छ।

इआइएको प्रतिवेदन अर्थात वातावरणीय प्रभाव मुल्याङकन स्वीकृत नभएसम्म कटानी आदेश नपाउने प्रावधान नै रहेको छ। कालोपत्र हुने सडक किनारामा परेका घरजग्गाको मुआब्जाका विषयमा सम्झौतामा कुनै कुरा उल्लेख नभएको तर सडकमा पर्ने घर हटाउनुपर्ने देखिएको छ। 

कैलालीको सहजपुरदेखि डोटी बडीकेदारको गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि २०७५ मंसिर १९ गते पिएलआर–कुमार जेभीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार ३० महिना भित्रै सात मिटर चौडा कालोपत्र र कालोपत्रको दायाँबायाँ एक–एक मिटर ग्राभेल सडक निर्माण गरिसक्नुपर्नेछ। एक्जिम बैंक अफ इण्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजनाको सम्झौता रकम २ अर्व १९ करोड रहेको छ। 
 

कमेन्ट लोड गर्नुस