कपडा उद्योगलाई ५० प्रतिशत विद्युत महसुल छुट दिदै सरकार
सरकारले कपडा उद्योगलाई विद्युत महसुलमा ५० प्रतिशत छुट दिने भएको छ। चालु आर्थिक वर्षको बर्षको बजेटमा त्यस सम्बन्धी व्यवस्था भएपनि कार्यविधिको अभावमा सो काम अगाडि बढ्न सकेको थिएन। कपडा उद्योगलाई महसुल छुट दिने सम्बन्धी व्यवस्था कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्यविधि तयार पारेको छ।
कार्यविधि तयार भएको र छिट्टै कार्यान्वयनमा जाने मन्त्रालयका एक अधिकारीले जानकारी दिए। गत वर्षको मंसिरमा नै मूल्य अभिवृद्धि कर र महसुल छुटको विषयमा सहमति भएपनि कार्यान्वयनमा आउन विधिगत र प्रक्रियागत रुपमा कठिनाई थियो। मन्त्रालयले करिब १ वर्ष पछि मात्रै कार्यविधि स्वीकृत गरेको हो।
कपडा उद्योगीले विशेष गरी सुतीको कपडामा मूल्य अभिवृद्धि कर लगाएको विषयमा विरोध गरेका थिए। देशभित्रै कपडाको उत्पादनमा आत्मनिर्भर बन्नुपर्ने चर्चा भएपनि प्रक्रियागत अन्यौल तथा झन्झटका कारण जटिलता पैदा भएको थियो। लामो समयपछि कार्यविधि स्वीकृत भएको र त्यसले कपडा उद्योगको प्रवद्र्धनमा थप सहयोग पुग्ने विश्वास लिइएको छ।
सरकारले गत आर्थिक वर्षको बजेटमार्फत सुतीका कपडाको उत्पादनमा मूल्य अभिबृद्धि कर भ्याट लगाएको थियो। त्यति मात्र होइन सलिकनको उत्पादनमा ७० प्रतिशत भ्याट फिर्ताको व्यवस्था पनि हटाएपछि उद्योगी व्यवसाय चलाउनै नसकिने भयो भन्दै अर्थ मन्त्रालय पुगेका थिए।