धनगढी विमानस्थल आजदेखि पूर्ण रुपमा सुचारु
धनगढी विमानस्थल आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ। धावन मार्ग मर्मत सम्भार र स्तर बृद्धिको काम गर्न मंसिर १ गतेदेखि एक महिनाका लागि बन्द भएको विमानस्थल आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको विमानस्थल प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए। तर मर्मत सम्भार र स्तरबृद्धिको काम भने जारी रहने छ।
विमान स्थल पूर्ण रुपमा सञ्चालनमा आएपछि धनगढीबाट हुने नियमित हवाई उडान पनि आजैदेखि सुचारु भएका छन्। श्री एयरलाईन्स धनगढीका स्टेशन इन्चार्ज गजेन्द्र शाहीले विमानस्थल सुचारु भएपछि नियमित हवाई हुने थालेको जानकारी दिए।
शाहीले आज धनगढीबाट पहिलो उडान बिहान सवा नौ बजे नै भएको बताए। यस्तै दोस्रो उडान दिउँसो साढे २ बजे हुने जनाउँदै चन्दले भोलीदेखि दोस्रो उडान साविककै समय दिउँसो तीन बजेर २५ मिनेटमा हुने जानकारी दिए। यसैगरी बुद्ध एयरलाईन्सका धनगढी स्टेशन इन्चार्ज बुद्धराम माझीले पनि आजदेखि नियमित उडान थालिएको जानकारी दिए।
उनले भोली र पर्सी विशेष कारणबस पहिलो उडान दिउँसो १२ बजेर ५ मिनेट र दोस्रो उडान साँझ ५ बजेर ४५ मिनेटमा हुने बताए। तर शुक्रबारदेखि भने साविककै कार्यतालिका अनुसार उडान भर्ने जनाए। उनले शुक्रबारदेखि बिहान १० बजेर ४० मिनेट र साँझ ५ बजेर ४५ मिनेटमा धनगढीबाट उडान भर्ने बताए।
यसअघि विमानस्थल एक महिनाका लागि दिउँसो तीन देखि बिहान ७ बजे सम्म बन्द भएको थियो। एयरलाईन्स कम्पनीले पनि साँझ हुने उडान दिउँसो गर्दै आएका थिए। त्रिभुवन विमानस्थल पछिको सवैभन्दा ठुलो धावनमार्ग रहेको धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि एक वर्षको अवधी तोकेर ठेक्का सम्झौता भएको थियो।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। झण्डै २२ करोडमा धावनमार्गमा थप कालोपत्रे गरिने छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना रहेको छ।
यस्तै अहिले ३ वटा जहाज पार्कीङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तार योजना रहेको छ। यसअघि जेठमा पनि विमानस्थल मर्मत सम्भार र स्तरबृद्धिका लागि भन्दै एक महिना बन्द गरिएको थियो।