धनगढीमा एसओएस बालग्राम २ सय ७२ बालबालिकाको अभिभावक
धनगढी उप–महानगरपालिका वडा नम्बर १३ गेटामा सन् २०१५ अक्टुबर २ तारिकमा औपचारीक उद्घाटन भएको एसओएस बालग्रामले एक सय १८ बालबालिकालाई संरक्षण दिईरहेको छ। त्यस बाहेक आफन्तद्वारा हेरचार र परिवार सवलीकरणमा पनि थप एक सय ५४ जना बालबालिकालाई बालग्रामले संरक्षण दिएको छ।
एक व्यक्तिको पालन–पोषण, शिक्षा, लत्ता कपडामा वार्षिक दुई लाख खर्च लाग्दै आएको छ। एसओएस बालग्राम धनगढीका योजना निर्देशक पदमबहादुर हमालले परिवारिक सुरक्षा र स्नेह नपाएका बालबालिकालाई ग्रामले अभिभावकत्व प्रदान गर्दै आएको बताए। कैलालीमा बालग्राम स्थापना भएको चार वर्षमा झण्डै तीन सय बालबालिकालाई अभिभाकत्व प्रदान गरेको छ।
बालग्राम भित्र ल्याएर परिवार जस्तै हेरचाह, आफन्तद्वारा हेरचार र परिवार सवलीकरण लगायतका कार्यक्रम सञ्चालन गरी बालग्रामले दुई सय ७२ बालबालिकालाई अभिभाकत्व प्रदान गरेको हो। एसओएस बालग्रामले अभिभाकत्व गुमाएका, द्वन्द्वपीडित तथा सिमान्तकृत समुदायका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै आएको छ। गेटामा रहेको एसओएस बालग्राममा अधिकासं सुदूरपश्चिमकै बालबालिका छन् भने सुरुवातमा न्यून संख्यामा ल्याईएका अन्य प्रदेशका बालबालिकालाई पनि अभिभावकत्व प्रदान गरिएको छ। २५ कट्टामा १२ पारिवारिक घर, दुई स्टाफ घर, एक सामुदायिक भवन, एक सुरक्षा गार्डका लागि घर गरि जम्मा १९ भवन निर्माण गरिएका छन्।
सन २०१३ अक्टूबर ४ मा शिलन्यास भएको भवन दुई वर्षमा पूर्ण भएका थिए। बालग्रामले परिवारमा आधारित सेवा, परिवार सवलिकरण कार्यक्रम र आफन्तद्धारा हेरचाह कार्यक्रम सञ्चालन गरिरहेको छ। योजना निर्देशक हमालले भने, ‘सुदूरपश्चिमका एक सय १८ बालबालिकालाई बालग्रामले परिवारमा आधारित सेवा दिएको छ। उनीहरु बालग्राममा बसोबास गर्दै आएका छन्। घोडाघोडी नगरपालिका वडा नम्बर ८ जडैका एक सय ३५ परिवारमा परिवार सवलिकरण कार्यक्रम र बालग्राम रहेको २५ किलोमिटर भित्रका १९ बालबालीका लाई आफन्तद्धारा हेरचाह कार्यक्रम सञ्चालन गरेका छौ।’
एसओएस बालग्राम धनगढीमा अहिले ३० जना कर्मचारी छन्। १७ जना आमा (आन्टी) ले बालबालिकालाई स्याहार गर्दै आएका छन्। उनीहरुले परिवारको माया दिदै आएका हुन्। १८ वर्ष सम्म उनीहरुलाई बालग्राममा राखिदै आईएको छ भने त्यसपछि थप ५ वर्ष युवाग्राममा राखिने गरिएको छ। त्यसपछि उनीहरुले युवाग्राम छोड्नुपर्ने हुन्छ। बालग्राम र युवाग्राम सञ्चालनका लागि सरकारी स्तरबाट भने कुनै सहयोग छैन्। देशविदेशका दाताहरुको सहयोगले नै सञ्चालन भईरहेको हो।
यस्तै एसओएस बालग्रामले सामाजिक परीक्षण कार्यक्रम आईतबार सम्पन्न गरेको छ। सामाजिक परीक्षण कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए। उनले एसओएसका कार्यक्रम प्रति खुशी व्यक्त गरे। ‘प्रदेशमा रहेका अभिभावक विहिन बालबालिकाहरुको स्याहार भनेको छ’ उनले भने। ‘यस संस्थाको उपलब्धीका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको छ।’
आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारको आर्थिक सहयोग गर्ने उनले कार्यक्रममा प्रतिबद्धता गरे। विदेशी दातृ निकाय आएर गरेको कामको प्रसंसा गदैँ मन्त्री सुवेदीले हाम्रो समाजले यस प्रकारका सामाजिक कार्य गर्न अग्रसर हुन आवश्यक रहेको बताए। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्य सचिव नारायणप्रसाद विडारी, धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड लगायतको पनि सहभागिता रहेको थियो।