कैलालीमा सुकेका हजारौ रुख कटानीमा ढिलाई हुँदा जोखिम बढ्दै
कैलालीमा बस्ती वरपर रहेका सुकेका हजारौ रुख कटानीमा ढिलाई हुँदा जोखिम बढ्दै गएको छ। धनगढी उप–महानगरपालिका–४ उत्तरबेहडी सालघारी लगायत जिल्लाका विभिन्न क्षेत्रमा बर्षाै अगाडी सुकेका रुख कटानीमा ढिलाई हुँदा जोखिम बढ्दै गएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ४ मा मात्रै गत शुक्रवार दुई वटा सुकेका रुख ढलेका थिए। एउटा रुख धनगढी उप–महानगरपालिका तुल्सीचोकका तारीसिंह भाटको घरमा ढलेपछि घर पूर्ण रपमा क्षती भएको छ।
रुखका कारण ज्यान नै जोखिममा रहेको भन्दै स्थानीयले कटानीको माग गर्दै आएका छन्। तर रुख कटानीका फाईलहरु भने संघीय वन विभागमा बर्षाैदेखि थन्किएका छन्। सुकेका रुखका कारण जोखिम बढेको भन्दै कटानीका लागि डिभिजन वन कार्यालय धनगढीले कटानीको प्रक्रिया सुरु गरेको थियो।
तर संघीय वन विभागले अहिले सम्म कटानीका लागि आदेश नदिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेलले जानकारी दिए। उनले प्रदेश वन ऐन तयार भएको भए प्रदेश सरकारकै अनुमतीमा पनि रुख काट्न सकिने भएपनि ऐन नहुँदा थप समस्या भएको बताए।
पटक–पटक संघीय वन विभागलाई कटान अनुमती माग गरेपनि अनुमती नपाएको उनले बताए। डिभिजन वन कार्यालयका अनुसार नौ हजार ६ सय ९७ सुकेका रुख कटानीका लागि भन्दै पटक–पटक अनुमती मागिएको छ।