सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत अझै फरार

२०७६ मंसिर २९, ०७:०२ खबर संवाददाता

प्रहरीले पक्राउ गर्ने अनुमती पाएको दुई साता सम्म धनगढीको अमित मेडिसिनका सञ्चालक दुस्यन्त बस्नेत पक्राउ परेका छैनन्। उनीसंगै अर्का सञ्चालक प्रदिप अग्रवाल पनि अझै फरार छन्। कर चुक्ता प्रमाणपत्र किर्ते गरेको आरोप लागेपछि अमित मेडिसिनका सञ्चालक बस्नेत र अग्रवाललाई जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न अनुमती दिएको थियो।

पक्राउ गर्ने अनुमतीपछि उनको खोजी सुरु भएपनि उनी जिल्ला बाहिर रहेकोले अहिले सम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। उनले मंसिर १७ गतेदेखि नै उनको खोजी कार्य भईरहेपनि पक्राउ गर्न नसकिएको बताए। उनीहरु दुवै जना विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा मुद्धा दर्ता गरिएको छ। 

यसअघि टेण्डर हत्याउन अमित मेडिसिन डिस्ट्रीब्युटर्सले कर चुक्ता प्रमाणपत्र किर्ते गरेको उजुरी परेपछि आन्तरिक राजश्व कार्यालय कैलालीले छानविन सुरु गरेको थियो। औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले समेत छानविन गर्न आन्तरिक राजश्व कार्यालयलाई आग्रह गरेको थियो।

गेटाँ आँखा अस्पतालको गत आर्थिक बर्षको औषधी खरीदको टेण्डर हत्याउनका लागि अमित मेडिसिनले कर चुक्ताको प्रमाणपत्र किर्ते गरेको थियो। अमित मेडिसिनले २०७४ साल माघ १० गते आन्तरिक राजश्व कार्यालयबाट जारी भएको कर चुक्ताको प्रमाणपत्र आँखा अस्पतालको टेण्डरमा पेश गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस