हिउँदे बर्षाले कैलाली, कञ्चनपुरका ईटा व्यवसायीलाई १५ करोड घाटा
हिउँदे बर्षाका कारण सुदूरपश्चिम प्रदेशका ७० ईटा उद्योगमा करिब १५ करोड क्षती भएको छ। शुक्रबार र शनिबारको वर्षाले कैलाली, कञ्चनपुरका ईटा व्यवसायी मर्कामा परेका हुन्। वर्षातले कैलाली, कञ्चनपुरका ७० वटा ईटा उद्योगका सञ्चालकलाई १५ करोड रुपैँया बराबरको क्षति पुगेको आईतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।
सेती महाकाली ईटा व्यवसायी संघका अध्यक्ष विनोदकुमार शाहले भने–‘कैलाली कञ्चनपुरमा रहेका हरेक ईटा भट्टामा १२ देखि १५ लाख सम्मको क्षती भएको छ।’ घाममा सुकाइरहेका सबै ईटाहरु वर्षातले गलेपछि ईटा व्यवसायीलाई ठूलो क्षति पुगेको उनले बताए।
‘विगतका वर्षहरुमा पुस अन्तिम तथा माघमा पर्ने पानी यस वर्ष भने मंसिर अन्तिम सातामै पर्दा भट्टीमा हाल्नु अघि घाममा सुकाउँदै गरेका सबै ईटा पानीले सखाप पारिदिएको छ,’ उनले भने, ‘अन्य वर्षमा हामीले घाममा सुकाइसकेर ईटालाई भट्टीमा राखीसकेपछि पानी पथ्र्यो।’
महाकाली ईटा ब्यबसायी संघका अध्यक्ष बलदेब सिंह बुडालले २०४७ सालपछि ईटा ब्यबसायमा ठुलो क्षति अहिले नै भएको बताए।