हिउँदे बर्षाले धनगढीका सडक हिलाम्य, आवतजावतमा सास्ती
हिउँदे बर्षाले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका अधिकासं सडकको दुर्दशा भएको छ।
शुक्रवारको बर्षाले धनगढी उप–महानगर क्षेत्रका अधिकांश सडक हिलाम्य भएपछि आवतजावतमा पनि निकै सास्ती भएको छ। निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडक, राजपुर–तारानगर सडक, धनगढी–खुटिया सडक, सहिदगेट–शिवनगर सडक, भन्साररोड–सन्तोषीटोल लगायतका सडकहरु हिउँदे बर्षाले हिलाम्य भएका हुन्।
यस्तै एसियाली विकास बैंकको ऋण लगानीमा कार्यन्वयन हुने सडक र सघन सहरी विकास कार्यक्रम, धनगढी उप–महानगरपालिका लगायतका विकासे अड्डाहरुले कालोपत्रेका लागि तयारी अवस्थामा राखेका सडकहरु पनि हिलाम्य भएपछि प्रदेश राजधानीमै आवतजावत गर्न निकै सास्ती भईरहेको छ। धनगढीका ईन्द्रवहादुर सिंहले धनगढीका अस्तव्यस्त सडकहरु राजनीतिक दलका कमाई खाने माध्यम मात्रै बनिरहेको आरोप लगाए। उनले चलनचल्तीका सडक मर्मतका लागि पनि प्रदेश र स्थानीय सरकारले वेवास्ता गरिदिएको बताए।
प्रदेशवासीले अस्थायी राजधानीका अस्तव्यस्त सडकले प्रदेशका ९ वटै जिल्लाको विकासको अवस्था चित्रण गरिरहेको समेत बताएका छन्। धनगढीका अर्का स्थानीय मीनवहादुर बमले भने, ‘प्रदेशको अस्थायी राजधानीकै सडकहरुको अवस्था दयनिय छ भने अन्य जिल्लाका सडकहरुको अवस्था के होला ?’ सडक निर्माणाधिन अवस्थामा समेत वैकपिल्क सडकको ब्यवस्थापन नहुँदा आवतजावतमा झनै सास्ती भईरहेको स्थानीयले बताएका छन्।
धनगढी उप–महानगरपालिकामा निर्माणाधिन अधिकासं सडक योजनाको ठेक्का अवधी सकिएपनि अहिले सम्म कालोपत्रे नहुँदा बर्षातमा हिलाम्य भएर र हिउँदमा धुलाम्य भएर स्थानीयलाई आवतजावतमा निकै समस्या हुने गरेकोमा अहिले हिउँदे बर्षाले सडक हिलाम्य भएका छन्। धनगढीकै स्थानीय गायत्री अवस्थीले अधिकासं सडकमा खाल्डाखुल्डी भएपनि मर्मतका लागि कुनै निकायले चाँसो नदिएको आरोप लगाईन्।