सुदूरपश्चिम महोत्सवमा सवारी पार्किङको नाममा लुट, ट्राफिकको पनि मिलोमतो
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा सवारी पार्किङको नाममा लुट मच्चाएको आरोप लागेको छ। कैलालीपुलदेखि रातोपुल सम्म महोत्सव बाहेक अन्य कुनै काम विशेषले जानेहरुबाट पनि महोत्सवको पार्किङ व्यवस्थापनको जिम्मेवारी पाएकाहरुले शुल्क लिएर लुट मच्चाएको आरोप लागेको हो।
आज नवनिवज सहकारीको साधारण सभाका लागि ओम प्यालेस क्षेत्रमा दर्जनौ मोटरसाईकल पार्किङ गरिएको थियो। सो क्षेत्रमा पार्किङ गरिएका मोटरसाईकलको हेल्मेट ट्राफिक प्रहरीको सहयोगमा महोत्सवको पार्किङ क्षेत्रमा लगेर शूल्क असुल गरिएको छ।
हेल्मेट लगेर प्रत्येक सवारी चालकबाट ५० रुयैँया असुल गरिएको छ। धनगढीका ईन्द्र चौधरीले कैलालीपुलदेखि रातोपुल सम्म अन्य कामले मोटरसाईकल रोके पनि महोत्सवको पार्किङ शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए।
महोत्सवको पार्किङ व्यवस्थापन समितिका संयोजक श्यामराज जोशीले सो बारेमा आफुलाई जानकारी नभएको र अनावश्यक शुल्क उठाएको देखिएमा कारवाही गर्ने बताए। यता ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक सरोज ठकुराठीले पनि सो बारेमा आफुलाई जानकारी नभएको बताए।
कैलाली उद्योग वाणिज्य संघले साइकलको १०, मोटरसाइकलको २५ र चारपाङ्ग्रे गाडीको पार्किङ शुल्क ५० रुपैया निर्धारण गरेको छ भने २० रुपैयाँ हेल्मेटको लिने गरिएको छ।