सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सक्रिय नक्कली नोट छाप्ने गिरोहका नाईके कारागार चलान

२०७६ मंसिर २७, ०२:४२ खबर संवाददाता

धनगढी– धनगढी सहित कैलालीका विभिन्न स्थानमा सक्रिय नक्कली नोट छाप्ने गिरोहका नाईके भनिएका तेजवहादुर कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। मंसिर २४ गते महेन्द्रनगरबाट पक्राउ परेका कार्कीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

सोही गिरोहमा सक्रिय चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरी तीन जना कारागार चलान भईसकेकोमा कार्कीलाई आज कारागार चलान गरिएको हो। गत साउनमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नैनादेवी टोलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको थियो।

कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खगेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोज बहादुर बम, धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का २४ वर्षीय पल्लभराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्कालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर लगायतका नेपाली र भारतीय नक्कली नोट समेत बरामद गरिएको थियो।

उनीहरुबाट छापेर काट्न बाँकी रहेको नेपाली पाँच सय दरको ९८ नोट, पाँच सयकै भारतीय ८६ नोट, भारतीय पाँच सय दरको पछाडीको भाग छापिएको ४ नोट बरामद गरिएको थियो। यस्तै माथिल्लो अगाडीको भाग मात्र छापिएको ३० नोट, पछाडीको भाग मात्र छापिएको पाँच सयकै ८ नोट, पाँच सयकै तल्लो पछाडीको भाग छापिएको १२ नोट सहित स्टिलको दराजमा राखिएको एक हजार दरका ६८ नोट समेत बरामद गरिएको थियो।

यस्तै, विभिन्न हिसाब किताब लेखिएको डायरी, स्टिलको कैची, एक थान स्केल, एक थान मोवाईल र रेडियो सञ्चार एफएम गढी बैतडी लेखिएको एक थान स्ट्रयाम्प पनि बरामद गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस