डडेल्धुरामा व्यवस्थित बसपार्क नहुँदा समस्या
डडेल्धुरामा व्यवस्थित बसपार्क नहुँदा समस्या भइरहेको छ। सुदूरपश्चिम प्रदेशको हिलस्टेशनका रुपमा चिनिने डडेल्धुरा सदरमुकाममा बसपार्क नहुँदा समस्या भइरहेको हो। सडक विभागले तत्कालीन समयमा भिमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशक अगाडी सदरमुकाम बागबजारको छेउमा निर्माण गरेको सवारी साधन विश्रामस्थललाई हाल बसपार्कका रुपमा प्रयोग गरिएको छ।
पहाडी जिल्ला पुग्ने र तराइलगायत राजधानी जाने रात्री तथा दिवा सेवाका यातायातका साधन आवतजावतमा कठिनाइ हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या भएको हो। २०५५ सालमा महाकाली राजमार्ग फराकिलो बनाउँदै कालोपत्रे गरिए पनि त्यसयता अव्यवस्थित संरचना भत्काउने लगायतका सडक सुधारका कुनै पनि कामहरू हुन नसक्दा बजारसमेत अव्यवस्थित भएको छ।
सडकको केन्द्रविन्दु देखि दायाँ र बाँयातिर २५÷२५ मिटर छाडनुपर्ने सडक विभागको मापदण्ड छ। तर डडेल्धुरा सदरमुकाममा कतिपय घरहरू सडकको नाली मिचेर बनाइएका छन्। डडेल्धुरामा हाल एउटा सार्वजनिक यातायात समिति छ। उक्त समितिका दुई सय भन्दा बढी सवारी साधनहरू पार्किङ गर्न समस्या छ भने देशका अन्य स्थानबाट आउने सवारी साधनका कारण पनि चाँप थपिएको छ।
त्यस्तै शाखा सडकमा हिड्ने गाडीहरूलाई रोडमा नै पार्किङ गर्नुपर्ने भएकाले दुर्घटनाको पनि बढि समस्या रहेको डडेल्धुरा उग्रतारा यातायात प्रालिका काउन्टर इन्चार्ज)तेजबहादुर ऐरले बताए। बसपार्क निमार्णको निम्ति डिपीआर बनाइ सकेर टेन्डर प्रक्रियामा अगाडी वढएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले जानकारि दिए।