सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा जनप्रतिनिधि र कर्मचारीको संरक्षणमा भ्रष्टाचार

२०७६ मंसिर २४, ११:२० जनक विष्ट

स्थानीय तहको निर्वाचनका बेला बझाङको छविसपाथिभरा गाँउपालिका वडा नम्बर ७ का रमेशबहादुर बोहरा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका थिए। तर एक सय दुई मतले पराजीत भएका बोहोरालाई चुनावले झण्डै आठ लाख रुपैँया ऋण लाग्यो। ऋण तिर्नकै लागि विदेश पलाएन भएको बोहोराको गत मंसिर १३ मा मलेसियामा दुःखद निधन भयो।

बोहोरा जस्तै अहिले स्थानीय चुनावमा पराजय भोगेका अधिकांश उम्मेदवारले ऋणको भारी बोक्नुपरेको छ। निर्वाचित जनप्रतिनिधीले त आर्थिक अनियमितता र कमिशनबाटै चुनावमा लागेको ऋण तिरिरहेको दावी गरिदै आएको छ। प्रदेशमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि भ्रष्टाचार बढ्नुको प्रमुख कारण भड्किलो चुनावी परिपाटीलाई लिईएको छ।

कैलालीका नागरिक अगुवा प्रमोद पाठकले भने, ‘चुनावमा पार्टीले टिकट दिने भन्ने कुरा सकियो, टिकट किन्ने भन्ने कुरा भयो, त्यो फिल्म हलको टिकट किन जस्तो भयो अब।’ पाठकले टिकट किनेर कार्यकर्तालाई पैँसा खुवाउदै चुनाव जित्ने परिपाटी रहेको बताए।

उनले चुनावी प्रक्रिया नै गलत हुँदा देशमा भ्रष्टाचार बढेको बताए। सुदूरपश्चिम प्रदेशमा जनप्रतिनिधी निर्वाचित भएर आएपछि आर्थिक अनियमितता बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बताउदै आएको छ। अख्तियारको कार्यालय महेन्द्रनगरका अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्र चार सय दुई उजुरी दर्ता भएका छन्।

जसमा सबैभन्दा बढि कैलालीमा एक सय १९ र कञ्चनपुरबाट ८९ वटा उजुरी परेका छन्। त्यसमा सबैभन्दा बढि स्थानीय तहसँग सम्बन्धीत उजुरी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोप बहादुर विष्टले पछिल्लो समय नागरिकमा सचेतना अभिबृद्धि हुनु, अख्तियारको सक्रियता बढ्नुले पनि उजुरीमा बृद्धि भएको बताए।

उनले स्थानीय तहमा जनप्रतिनिधी र कर्मचारीको मनोमानी पनि तुलनात्मक रुपमा बढेको जनाए। पछिल्लो समय राजनीतिक र कर्मचारीको नेतृत्वकै संरक्षण तथा निर्देशनमा भ्रष्टाचारजन्य गतिविधी मौलाएको आरोप लाग्ने गरेको छ। नीति निर्माणको तहमा रहेका राजनीतिक दलका नेताहरुले कमिशनको खेलमा घुस लिने÷दिने परिपाटीलाई प्रचय दिदै आएका छन्।

नागरिक अगुवा प्रमोद पाठकले देश चलाउने राजनीति नै भ्रष्ट भएकाले भ्रष्टाचार बढेको बताए। उनले प्रणाली कस्तो बनाउने भन्ने कुरा नेतृत्वकर्ताको हातमा भएको उल्लेख गर्दै भने, ‘देश चलाउने राजनीतिले हो, राजनीति नै भ्रष्ट भएपछि हाम्रो देशमा भ्रष्टाचार बढेको हो।’

पाठकले थपे, ‘भ्रष्टाचार निर्मूल गर्ने जिम्मेवारी पनि राजनीतिक नेतृत्वकै भएपनि त्यो गर्न योग्य मान्छे राजनीतिमा गए की गएनन् भन्ने कुरा महत्वपूर्ण हुन्छ।’ राजनीति गर्ने मान्छेको उद्देश्य घुस खाएर पैँसा कमाएर ठुलो बडो हौँ, गाडी घोडा चढौँ भन्ने हो की समाज सेवा उक्त कुरा महत्वपूर्ण भएको उनी बताउँछन्।

सत्तामा बसेका राजनीतिक नेतृत्वले सुशासनको नारा लगाएर भ्रष्टाचारमा लिप्तता बढाउदा पनि समस्या भएको छ। अहिले भ्रष्टाचारलाई राजनीतिक दलहरुले सर्वदलीय बनाईसकेको आरोप पनि लाग्दै आएको छ। प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र संघिय सरकार मातहतका निकायमा खुलेआम भ्रष्टाचार भईरहेका बेला पनि मुख नखोल्नुले उक्त कुराको पुष्टि गर्ने जानकारहरु बताउँदै आएका छन्।

तर नेपाली कांग्रेस कैलाली उपसभापति प्रकाश बम भने भ्रष्टाचार सर्वदलिय भएको कुरा अस्वीकार गर्छन्। उनले अहिले सत्ता सञ्चालन गरिरहेका नेकपाले स्थानीय तहदेखि संघ सम्म भ्रष्टाचार गरिरहेको बताउँदै कांग्रेसले खबरदारी जारी राखेको जिकिर गरे। तर प्रतिपक्षी दलका नेताहरुले भागबण्डा नमिलेमा मात्र विरोध जनाउदै आएको आरोप पनि लाग्ने गरेको छ।

सुदूरपश्चिममा भ्रष्टाचार, आर्थिक अनियमितता लगायतका विकृतिलाई सर्वदलीय बनाईदा व्यक्ति बन्ने तर ठाउँ नबन्ने समस्या छ। तर भ्रष्टाचार नियन्त्रणका लागि सचेत नागरिकले पनि आ–आफ्नो स्थानबाट खबरदारी गर्न आवश्यक रहेको सुझाव दिईएको छ।   

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस