सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निर्माणाधिन प्रादेशिक आयुर्वेदिक अस्पतालको ७५ प्रतिशत प्रगती

फाइल फोटो
फाइल फोटो
२०७६ मंसिर २०, ०७:०० रोशन भट्ट

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निर्माणाधिन प्रादेशिक आयुर्वेदिक अस्पतालको प्रगती ७५ प्रतिशत पुगेको छ। २०७४ सालको फागुनबाट निर्माण थालिएको अस्पतालको ७५ प्रतिशत भौतिक प्रगती पुगेको हो। आउँदो आर्थिक वर्षदेखि सेवा सुरु गर्ने लक्ष्यका साथ निर्माण थालिएको ५० शैयाको आयुर्वेदिक अस्पतालको संरचना निर्माणको काम लगभग अन्तीम चरणमा पुगेको छ।

पञ्चकर्म योगा सहितको ५० शैयाको अस्पताल स्थापना भएपछि यस क्षेत्रका बासिन्दालाई सहज हुने विश्वास लिईएको छ। काममा कुनै अवरोध नभए निर्धारित समय भन्दा अगाडी नै काम सम्पन्न हुने शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका ईन्जिनियर रविन वस्नेतले बताए।

सुरुमा जग्गा प्राप्तिका लागि विवाद भएपछि आयुर्वेदिक अस्पतालको निर्माण कार्यलाई गती दिन कठिनाई भएपनि पछिल्लो समय निर्माण कार्यले गति लिएको छ। सो जग्गामा रहेका केही रुख काट्नुपर्ने अवस्था रहेकोले भोलीका दिनमा त्यसले समस्या निम्ताउने सक्ने आशंका गरिएको छ।

झण्डै १६ करोडको लगानीमा तीन वटा भवन निर्माणका लागि गौरी पार्वती एमके टिडिआर जेभीसँग ठेक्का सम्झौता गरेर निर्माणको काम सुरु गरिएकोमा अहिले संरचना निर्माणको काम लगभग अन्तीम चरणमा पुगेको छ। २०७७ सालको असार सम्म निर्माण अवधी रहेकोमा त्यसअघि नै निर्माण सकिनेमा आयोजना कार्यालय र निर्माण कम्पनी पनि ढुक्क रहेको निर्माण व्यवसायी चन्द्र शाहले बताए।

आयुर्वेद अस्पताल मार्फत विशेषज्ञ सेवा दिने उद्देश्य राखिएको छ। निर्माण व्यवसायीको सक्रियताका कारण निर्माण कार्यले गति लिएको बताईएको छ। प्रादेशिक आयुर्वेदिक अस्पतालमा १३ जना विशेषज्ञ डाक्टले स्वास्थ्य सेवा दिनेछन् भने यसले सुदूरपश्चिम प्रदेशका विरामीलाई आयुर्वेदिक चिकित्सा मार्फत उपचार सेवा पाउनेछन्। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस