सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटना न्यूनीकरणका लागि डडेल्धुरामा ‘स्लो मोटरसाइकल रेस’

२०७६ मंसिर १८, ०५:१२ खबर संवाददाता

मोटरसाइकल दुर्घटनाविरुद्ध सचेतना जगाउन ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिता गरिएको छ।  मोटरसाइकल कम गतिमा चलाउँदा दुर्घटनाबाट बच्न सकिन्छ भन्ने सन्देश दिनको लागि उक्त प्रतियोगिता आयोजना गरिएको हो।

रेडियो युनिटीको पाँचौ वार्षिकोत्सवको अवसरमा बुधबार बिहान ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिता आयोजना गरिएको हो। अमरगढी नगरपालिका–४ मा रहेका टुँडिखेलमा सम्पन्न प्रतियोगितामा निरज रावल पहिलो, केपी भट्ट दोस्रो र यमेन्द्र साउँद तेस्रो भएका छन्। 

बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्ने उदेश्यले ‘स्लो मोटरसाइकल रेस’ प्रतियोगिता आयोजना गरिएको रेडियोका स्टेशन म्याजेजर उत्तर विष्टले जानकारी दिए। उनका अनुसार युवा पुस्तामा बाइक रेस गर्ने चलन छ तर बाइक विस्तारै कसरी हाँक्ने भनेर पनि उक्त प्रतियोगिता आयोजना गरिएको हो। 

उनले भने, ‘सवारी चालक जिम्मेवार बन्नु पदर्छ। हामी विस्तारै पनि सवारीसाधन हाँक्न सक्छौं भन्ने सन्देश दिनका लागि हामीले यो प्रतियोगिता आयोजना गरेका हौं।’ यस्ता किसिमका प्रतियोगिता आयोजना गर्दा चालकहरूलाई पनि मोटरसाइकलगायतका अन्य सवारी साधनहरू विस्तारै हाँक्नुपर्छ भन्ने सन्देश जाने जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याउले डडेल्धुराका प्रमुख देवबहादुर खत्रीले बताए। साथै उनले प्रतियोगितामा सहभागीहरूलाई ट्राफिक नियम र सवारी साधन चलाउँदा विस्तारै चलाउन पनि आग्रह गरेका थिए।

‘स्लो मोटरसाइकल रेस’ प्रतियोगितामा सहभागीता जनाउने प्रतियोगि मोटरसाइकल चालकहरूले मोटरलाइक विस्तारै चलाउने प्रतिबद्धता समेत जनाएका छन्। यो प्रतियोगिताले मोटरसाइक विस्तारै चलाउनुपर्छ भन्ने सन्देश समेत जाम चालकहरूलाई दिएको प्रतियोगितामा प्रथम भएका निरज रावले बताए।

‘योभन्दा पहिले म पनि तीव्र गतिमा बाइक हाँक्थे। मोटरसाइकल स्पिडमा चलाउँदा दुर्घटनामा परिन्छ। दुर्घटनामा परे हातखुट्टा भाँचिने, अपाङ्ग हुने अवस्था आउँछ।’ उनले भने,‘त्यसैले हामी सबैले मोटरसाइक विस्तारै हाँकौँ। ढिलो भए पुगिन्छ, चाँडो गए भन्न सकिन्नँ भनेजस्तै सबैले विस्तारै मोटरसाइकलगायत अन्य सवारीसाधन हाँकौँ।’

डडेल्धुरा जेसिजका अध्यक्ष गणेश भट्टले यस प्रतियोगिताले मोटरसाइकल दुर्घटनामा न्यूनीकरण हुने विश्वास व्यक्त गरे। ‘युवाहरूले बाइक स्पिड चलाउँछन्। त्यसले गर्दा दुर्घटना बढिरहेका छन्।’ उनले भने, ‘यस प्रतियोगिताले ट्राफिक प्रहरीलाई पनि सहयोग पुग्छ। विस्तारै हाँक्नुपर्छ भन्ने सन्देश पनि दिएको छ।’ 

प्रतियोगितामा जिल्लाभरका ४० जना बाइक चालक सहभागी थिए। जसले ढिलो लाइन क्रस गर्छ उनै विजेता हुने नियम थियो। प्रतियोगितामा पहिलो हुनेलाई तीन हजार, दोस्रो हुनेलाई दुई हजार र तेस्रो हुनेले एकहजार पुरस्कार पाउनेछन्।  उक्त पुरस्कार वार्षिकोत्सव समापनको दिन वितरण गरिने जनाइएको छ। अमरगढी नगरपालिका–४ को कार्यालय, डडेल्धुरा जेसिज, जयबाबा घटाल युवा क्लव र जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सहयोगमा उक्त प्रतियोगिता सम्पन्न गरिएको हो।

कमेन्ट लोड गर्नुस