धनगढीमा गौशालाको छाना भत्किएको ६ महिना सम्म मर्मत भएन
धनगढीमा रहेका छाडा पुशचौपायको व्यवस्थापन गर्ने भन्दै निर्माण गरिएको गौशालाको छाना भत्किएको ६ महिना सम्म पनि मर्मत हुन सकेको छैन्। गत जेठ २३ गते चलेको हावाहुरीका कारण भत्किएको गौशालाको छाना मर्मत नभएको हो। धनगढी उप–महानगरपालिकाको वडा नम्बर ७ देवहरियामा रहेको गौशालाको छाना भत्किएपछि व्यवस्थापनमा चुनौती थपिएको छ।
जाडो मौसम सुरु हुँदा पनि मर्मत गर्नमा धनगढी उप–महानगरपालिका भने उदासिन देखिएको छ। जाडोकै कारण प्रत्येक हप्ता एक/दुई गाईगौर समेत मर्न थालेको गौशालामै कार्यरत हेरालु राममिलन रानाले बताए। पटक–पटक खवर गर्दापनि मर्मत गर्न ध्यान नदिएको गुनासो उनको छ। अहिले देवरियामा रहेको गौशालामा तीन सय भन्दा बढी गाईगोरु छन्।
जाडो सुरु हुँदा गाईवस्तु राख्ने गौशाला वारिपरि त्रिपाल वेर्नु पर्ने देखिएको छ भने छाना मर्मत गर्न बाँकी छ। छाना मर्मत नहँुदा वर्खामा समेत समस्या भएको थियो भने जाडोमा झनै समस्या हुने देखिएको छ। धनगढीमा रहेका छाडा पसुचौपाय व्यवस्थापन गर्ने भन्दै उप–महानगरपालिकाले गौशाला निर्माण गरेको थियो। त्यसपछि धनगढीमा छाडा पशुचौपाय व्यवस्थापनमा केही सहज समेत भएको थियो।
तर अहिले उप–महानगरपालिकाले गौशालाको उचित व्यवस्थापन गर्न नसक्दा समस्या भईरहेको छ। तर धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरीले गौशालाको छाना भत्किएको विषयमा रिर्पोट माग गरेको बताउँदै अवको केही दिनमा त्यो समस्या समाधान हुने बताए।