सुदूरपश्चिममा सुन्तलाको उत्पादन वर्षेनी घट्दै
कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ का किसान प्रेम कडेलले गत वर्ष अरुबाट खरिद गरेको र आफैले उत्पादन गरेको झण्डै २२ सय क्वीन्टल सुन्तला विक्रि गरेका थिए। तर यसवर्ष भने झण्डै पाँच सय क्वीन्टल सुन्तला खरिद र उत्पादन गर्न पनि उनलाई मुस्किल परेको छ।
सुन्तलालाई आवश्यक पर्ने मलजल नपाउदा उत्पादनमा ह्रास आएको आशंका गरिएको छ। एक वर्ष उत्पादन हुने र अर्को वर्ष नहुने गरेका कारणले पनि यस वर्ष उत्पादनमा ह्रास आएको उनको ठहर छ। विगतको भन्दा यस वर्ष सुदूरपश्चिम प्रदेशमा ६० प्रतिशत भन्दा कम सुन्तला उत्पादन भएको किसानहरुले बताएका छन्।
पहाडी जिल्लामा फल्ने सुन्तलाको उत्पादन राम्रो नभएपछि लगानी अनुसारको प्रतिफल नपाउने भन्दै किसान चिन्तित भएका छन्। सुदूरपश्चिमको पहाडी जिल्लामा उत्पादन हुने सुन्तलाले बजार सहज रुपमा पाउने गरेको भएपनि उत्पादनमा भने बृद्धि हुन सकेको छैन्।
विगतमा केन्द्रीय सरकारले सुन्तला किसानलाई वेवास्ता गरेको भएपनि अहिले प्रदेश र स्थानीय सरकारले समेत सहयोग नगरेको गुनासो डोटीको वोगटानका किसान वालासिंह गड्सिलाको छ। ‘सरकारले आपेक्षाकृत रुपमा सहयोग नगर्दा सुन्तला खेतीलाई निरन्तरता दिन समस्या भईरहेको छ,’ गड्सिलाले भने।
‘सुन्तलालाई आवश्यक पर्ने मल मात्र सहयोग गरे उत्पादन बृद्धि गर्न सहज हुन्थ्यो।’ हुन त अहिले प्रदेश सरकारले फलफुल खेती तर्फ ५० प्रतिशत अनुदान दिने गरेको दावी गरेको छ। तर सुन्तलाको हकमा उत्पादन हुने क्षेत्र प्रत्येक वर्ष कम हुदै गएको छ भने गुणस्तर समेत घट्दै गएको छ। सुन्तला उत्पादनलाई व्यवसायिक र नाफा मुखी बनाउन अहिले पकेट क्षेत्र तोकेर काम भईरहेको दावी कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलबहादुर विष्टको छ।
स्थानीय र प्रदेश सरकारको वेवास्ताका कारण परिश्रम गरी फलाएका सुन्तला किसान उत्पादनमा ह्रास आएपछि लगानी समेत फिर्ता नहुने भन्दै चिन्तित भएका हुन्। अधिकासं स्थानमा त सुन्तलाका रुखहरु सुक्दै गएका छन्। त्यसैले सुन्तला उत्पादनको क्षेत्रलाई विस्तार गर्दै व्यवसायिक किसानलाई हौसला प्रदान गर्न आवश्यक छ।