सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड र रामारोशनमा पर्यटन विकास समिति गठन गर्न ढिलाई

२०७६ मंसिर ११, ०७:०३ कमल सावद

सुदूरपश्चिम प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि महिनौँ अगाडी गरिएका निर्णय कार्यान्वयनमा असफल भएको छ। यस क्षेत्रको पर्यटन प्रवद्र्धन र भ्रमण बर्ष २०२० लाई सफल बनाउनका लागि भएका निर्णय कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार असफल देखिएको हो।

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तड दुई वर्ष देखि पर्यटन विकास समिति बिहिन छ। सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन विकास समिति गठनका लागि ८ महिना अगाडी नै निर्णय गरेपनि कार्यान्वयन गर्न नसक्दा अहिले पनि खप्तड विकास समिति विहिन रहेको हो।                

दुई वर्ष देखि खप्तड पर्यटन विकास समिति विहिन भएपछि कर्मचारीले तलव पनि नपाएको खप्तड पर्यटन विकास समितिका शाखा अधिकृत प्रेम कुवंरले बताए। विकास समिति  विहिन भएपछि विकास निर्माणको काम पनि ठप्प रहेको उनले बताए। 

सुदूरपश्चिम प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्ने खप्तडसंगै रामारोशनमा पनि पर्यटन विकास समितिका लागि चालु आर्थिक वर्ष २०७६ मा एक करोड वजेट विनियोजन गरिएको छ। रामारोशनमा पनि पर्यटन विकास समिति तथा व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको थियो तर प्रक्रिया अगाडी बढेको छैन्।

खप्तड पर्यटन विकास समिति गठन आदेश २०७५ र रामारोशन पर्यटन विकास समिति गठन आदेश २०७६ तयार भईसकेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मायाँ भट्टले बताईन्। उनले छिट्टै समिति बनाउने बताउँदै विकास समिति गठन भए सोही मार्फत बजेट कार्यान्वयन गरिने बताईन्। 

खप्तड क्षेत्र अछाम, डोटी, बाजुरा र बझाङ जिल्लामा पर्छ भने, रामारोशन अछाम जिल्लामा पर्छ। खप्तड  पर्यटन विकास तथा व्यवस्थापन समिति गठन आदेश २०७५ मा चार जिल्लामा स्थायी बसोबास रहेको ख्याती प्राप्त व्यक्तिलाई अध्यक्ष, चार जिल्लाका सम्वनय समितिका प्रमुखहरु, प्रदेश सरकारले मनोनयन गर्ने प्रत्येक जिल्लाका एक/एक जना र प्रदेश भित्रको एक महिला सदस्य तथा कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था छ। 

खप्तड विकास समितिको नव निर्मित अढाइ तलाको ९ कोठे कार्यालय गाईगोठका रूपमा परिणत छ। उप–सचिव स्तरको कार्यकारी निर्देशक हुनुपर्नेमा सरकारले गत वर्षको साउन यता पठाएको छैन्। समिति नभएका कारण कर्मचारीको रनभुल्लमा छन्। नेपाल भ्रमण वर्ष सन २०२० मा खप्तड क्षेत्रमा पर्यटक ल्याउन पनि कुनै योजना छैन्। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस