आफैले बनाएको नियम मिचेर धनगढी उप–महानगरपालिकाद्वारा सडक कालोपत्रे
धनगढी उप–महानगरपालिकाको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक नीति तथा कार्यक्रम समेटिएको रातो किताबमा पूर्वाधार विकास तर्फ सडक निर्माण गर्दा अनिवार्य रुपमा पक्की नाली निर्माण गर्नुपर्ने प्रावधान छ।
तर उप–महानगरपालिकाले पक्की नाली निर्माण नगरी सडक कालोपत्रेका योजना कार्यान्वयन गरिरहेको छ। यसरी आफैले वनाएको नियम विपरीत सडक कालोपत्रे गरिएपछि आर्थिक अनियमितता गर्न खोजिएको आरोप समेत लागेको छ।
उप–महानगरपालिकाले सडक कालोपत्रेका योजनामा झारो टार्ने काम गरेको आरोप धनगढीका स्थानीय शिव नेपालीको छ। ‘कालोपत्रे सडकमा नाली नहुँदा ढल निकासको निकै समस्या छ,’ नेपालीले भने ‘अधिकासं स्थानमा त सडक भत्कीन सुरु भईसक्यो।’
तर उप–महानगरपालिका प्रवक्ता सन्तोस मुडभरीले भने बजेट, साधन स्रोतको अभाव लगायतका अन्य कारणले गर्दा नाली निर्माण नगरी सडक कालोपत्रे गरिएको बताउँछन्। उनका अनुसार धनगढी उप–महानगरपालिकाले गत आर्थीक वर्ष २०७५÷०७६ मा १२ करोड ८८ लाख खर्च गर्दै १९ किलोमिटर सडक कालोपत्रे गरेको छ। त्यस मध्य अधिकासं सडकमा नाली निर्माण नगरी कालोपत्रे गरिएको उनले स्वीकार गरे।
यस्तै ८ करोड १३ लाख ३३ हजार खर्च गर्दै उप–महानगरपालिकाले १३ किलोमिटर पक्की नाली निर्माण गरेको छ। त्यो नाली पनि कालोपत्रे गरिएका सडकमा नभई अन्य स्थानमा निर्माण गरिएको छ। धनगढीमा नाली सहित निर्माण भएका अधिकासं सडक भने संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाईले बनाएको हो।