सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा उपनिर्वाचनका लागी मतदाता रिझाउँदै उम्मेदवार

२०७६ मंसिर १०, १०:०२

बैतडी: उपनिर्वाचनको मिति नजिकिएसँगै बैतडीमा चुनावी तापमान बढेको छ। मतदातालाई रिझाउन विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवार घरदैलो तथा चुनावीसभा गरिरहेका छन्।  नेपाली काँग्रेसले उपनिर्वाचन हुने जिल्लाका तीनवटै वडामा केन्द्रीय नेतासहित चुनावीसभा सम्पन्न गरेको छ।

केन्द्रीय सदस्यद्वय तथा पूर्वमन्त्री रमेश लेखक र नारायणप्रसाद साउदको उपस्थितिमा चुनावीसभा सम्पन्न गरिसकेको काँग्रेसका कार्यालय सचिव दीपेन्द्रबहादुर चन्दले जानकारी दिए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि तीन वटै वडामा चुनावीसभा गरिरहेको नेकपाका कार्यालय सचिव प्रजापति जोशीले बताए।

केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरको विशेष उपस्थितिमा नेकपाले चुनावीसभा सञ्चालन गरिरहेको हो । यसका साथै उम्मेदवारले घरदैलो अभियान पनि जारी राखेका छन्।  मतदातालाई विकासका कामहरु गर्ने प्रतिबद्धतासहित उम्मेदवारले मतदाता रिझाउन लागेका हुन् ।  

नेकपा र काँग्रेसबीच मुख्य प्रतिस्पर्धा 
उपनिर्वाचन हुने तीन वडामा चुनावी चहलपहल बढेको छ। उपनिर्वाचन हुने तीन वटै वडामा नेकपा र नेपाली काँग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। तीन वटै वडामा आफू चुनाव जित्ने कुरामा नेकपा ढुक्क छ भने काँग्रेसले तीनवटै वडामा चुनाव आफ्नो पक्षमा पर्ने दाबी गरेको छ।  दोगडाकेदार–४ र पुर्चौँडी–४ मा पहिला पनि आफ्नो पार्टीले जितेको र अहिले सुर्नया–१ मा पनि आफ्नो पार्टीका उम्मेदवार विजयी हुने नेकपाका कार्यालय सचिव जोशीले दाबी गरे। 

सुर्नया–१ मा पहिला पनि जितेकाले अहिले जित्न मुस्किल नभएको र बाँकी दुई वडा पनि आफ्नो पार्टीले जित्ने दाबी नेपाली काँग्रेसका कार्यालय सचिव चन्दले गरे। गत स्थानीय तहको निर्वाचनमा दोगडाकेदार गाउँपालिका–४ र पुर्चौँडी  नगरपालिका–४ मा साविकको एमालेले जितेको थियो भने सुर्नया–१ मा नेपाली काँग्रेसले जितेको थियो।

अहिले दोगडाकेदार गाउँपालिका–४ मा नेकपाको तर्फबाट नरेन्द्रप्रसाद भट्ट, नेपाली काँग्रेसको तर्फबाट सुरेन्द्रप्रसाद भट्ट र राप्रपा संयुक्तका तर्फबाट देवसिंह खत्री चुनावी मैदानमा छन्। यस्तै पुर्चौँडी–४ मा नेकपाको तर्फबाट शैलेन्द्र धानुक, नेपाली काँग्रेसको तर्फबाट गोविन्दबहादुर धामी र स्वतन्त्रबाट चन्द्रबहादुर बोहरा चुनावी मैदानमा छन् । सुर्नया–१ मा नेकपाबाट धनबहादुर चन्द र नेपाली काँग्रेसबाट गजेन्द्रबहादुर चन्द चुनावी मैदानमा छन्। 

चार हजार मतदाता सहभागी हुने, पाँच मतदान केन्द्र तोकिए
उपनिर्वाचनमा बैतडीमा चार हजार बढी मतदाता सहभागी हुने भएका छन्। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार निर्वाचन हुने तीन वडामा कूल चार हजार ३३६ मतदाता सहभागी हुने भएका छन्। दोगडाकेदार गाउँपालिका–४ मा एक हजार ८०८, सुर्नया गाउँपालिका–१ मा ६१९ र पुर्चौँडी  नगरपालिका–४ मा एक हजार ९०९ मतदाता रहेको निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दिए। 

निर्वाचन हुने तीन वडामा पाँच वटा मतदान केन्द्र तोकिएका छन्। दोगडाकेदार–४ मा केदारनाथ मावि पिपलकोट र हुनैनाथ मावि कपिन्ना, सुर्नया गाउँपालिका–१ मा गाविस भवन गुर्केली र पुर्चौँडी नगरपालिका–४ मा महादेव मावि सिवावो, पहरोल मावि बांगा मतदानकेन्द्र तोकिएका छन्।  

 पिपलकोट माविमा एक हजार २२९, हुनैनाथ माविमा ५७९, गाविस भवन गुर्केलीमा ६१९, महादेव माविमा ८६५ र पहरोल मावि मतदान केन्द्रमा एक हजार ४४ मतदाताले मतदान गर्न पाउने भएका छन् । यसै वर्षको साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउने छन् । 

मतदाता शिक्षा कार्यक्रम 
उपनिर्वाचनलाई लक्षित गर्दै बैतडीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार उपनिर्वाचन हुने दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौँडी नगरपालिका–४ मा मङ्सिर ५ गतेदेखि ११ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालनमा रहेको छ।  

मतदाता शिक्षा कार्यक्रमका लागि प्रत्येक वडामा दुई÷दुई जना मतदाता शिक्षा कार्यकर्ता खटाइको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए। मतदाता शिक्षा कार्यकर्तालाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमूना मतपत्रसहित घरदैलो कार्यक्रम भइरहेको छ। सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर उनीहरुले मतदाता शिक्षा प्रदान गरिरहेका छन्। 

मतदाता शिक्षा कार्यकर्ताले निर्वाचनको महत्व, मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी प्रदान गरिहेका छन्।  बदर मतको प्रतिशतमा कमी ल्याउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। –विनोदसिँह विष्ट/रासस
 

कमेन्ट लोड गर्नुस