धनगढी–दिपायल द्रुत मार्गको काम अझै अलपत्र
धनगढी–दिपायल द्रुत मार्गको काम अझै अलपत्र परेको छ। गत वर्षको असारमा रोकिएको सडक निर्माणको काम अझै सुरु भएको छैन्।
निर्माण कम्पनीले गत वर्षको भदौबाट भुक्तानी नपाएको भन्दै काम पनि पूर्ण रुपमा बन्द गरेका छन्। २०७४ बैसाख ४ गते सम्झौता भएको कैलालीको हाटखोली देखि ओझेना सम्मको २० दशमलव ५ किलोमिटर सडक निर्माणको काम असारमा रोकिएकोमा अझै सुरु भएको छैन्। सडक निर्माणका लागि ४८ करोड वजेट रहेकोमा २१ करोडमा आषिस जेभीसंग ३० महिनाका लागि निर्माण सम्झौता भएको थियो। सडक निर्माणको सम्झौता भएको एक वर्ष दुई महिना नहुदै गत वर्षको असारमा निर्माणको काम पूर्ण रुपमा रोकिएकोमा अझै सुरु नभएको हो।
गत वर्षको भदौबाट निर्माण कम्पनीहरुले भुक्तानी नपाएपछि सडक निर्माणको काम रोकेका दावी गरिएको छ। निर्माण क्षेत्रमा वनको अवरोध पनि कायमै रहेको आषिस जेभीका प्रतिनिधि टेकेन्द्र शाहीले बताए। केही दिनमा काम सुचारु हुने उनले बताए। ‘सडक योजना कार्यालयले पनि पत्र पठाएको छ,’ उनले भने, ‘हाम्रो ठेक्कामा १४ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिएको छ। बाँकी काम पनि केही दिन भित्र सुचारु हुन्छ।’ ओझेनादेखि बीपीनगरसम्मको चार किलोमिटर सडकको ठेक्का दुई करोड ९५ लाखमा श्याम सुन्दर÷साउद कन्स्ट्रक्सनले लिएका थिए।
यसको काम भने ८० प्रतिशत भइसकेको छ। २०७४ को असारमा सम्झौता भएको यो प्याकेज ११ महिनामा सक्नुपर्ने थियो। सम्झौताभन्दा ७ महिना बढी भइसक्दा २० प्रतिशत काम बाँकी छ। डोटीको बीपीनगरदेखि काफतडीसम्मको ८ किलोमिटर काम पनि डेढ वर्षमा २० प्रतिशत मात्रै सकिएको छ। डोटीकै काफलतडीदेखि सलेनासम्मको ५० किलोमिटर ट्र्याकको काम पनि वनकै कारण अलपत्र छ।
सूर्य कन्स्ट्रक्सन प्रालिले ९ करोडमा लिएको उक्त ठेक्कामा पनि ४० प्रतिशत मात्रै काम भएको छ। यसमा सलेनामा रूखहरू परेका र क्याबिनेटबाट वन काटने स्वीकृति नहुँदा काम रोकिएको छ। द्रुतमार्गकै राजपुरदेखि सेनाको पृतनासम्मको एक किलोमिटर कालोपत्रे गर्न पनि ठेक्का भएको थियो। डिभिजन सडक कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बमले सबै निर्माण कम्पनीलाई काम सुचारु गर्न पत्र पठाएको बताए। ‘हामीले सबै निर्माण कम्पनीहरुलाई पत्रचार गरेका छौ,’ उनले भने, ‘काम सुचारु गर्ने प्रतिवद्धता आएको छ। हामीले पनि काम सुचारु हुने आशा गरेका छौ।
दोस्रो पटक कडा रुपमा प्रस्तुत हुने छौ।’ आयोजना कार्यालयका अनुसार ६ वटा ठेक्का मध्ये अधिकासंको म्याद सकिएको छ भने म्याद थप नहुँदा सम्म भुक्तानी दिन समेत सकिएको छैन्।
द्रुतमार्ग अन्तर्गत एउटा कालोपत्रे र अन्य ५ वटा ठेक्का ट्रयाक खोल्नका लागि सम्झौता भएको थियो। योजना कहिले प्रदेश त कहिले संघीय सरकारको मातहतमा लैजाने प्रतिस्पर्धा भएपछि सडक निर्माण अलपत्र पर्दै गएको छ। डीपीआर गरिएका बेला कैलालीको खुटियादेखि दिपायलसम्म ८४ किलोमिटर दूरीको यो मार्ग धनगढीदेखि खुटिया हुँदै दिपायल गरिए पछि १ सय ५ किलोमिटर पुगेको छ।