सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्याजको मुल्य प्रतिकिलो दुई सय ५० रुपैयाँ

। फोटो स्रोत ।
२०७६ मंसिर १०, ०२:१९ खबर संवाददाता

नेपाली बजारमा प्याजको मूल्य उपभोक्ता निस्सासिने गरी बढेको छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलबारका लागि सुकेको प्याजको प्रतिकिलो होलसेल मूल्य नै दुई सय रुपैयाँ तोकेको छ। गत मंगलबार कालिमाटी बजारमा सुकेको प्याजको थोक मूल्य औषत एक सय ५२ रुपैयाँ प्रतिकिलो थियो। तर आज प्रतिकिलो ४८ रुपैयाँले बढेर दुई सय रुपैयाँ पुगेको हो। कालिमाटी तरकारी बजारमै प्याजको खुद्रा मूल्य २२० र अधिकतम २३० रुपैयाँ पुगेको छ। कालीमाटी बजार बाहिरका खुद्रा पसलमा प्रतिकिलो मूल्य साढे दुई सय हाराहारी पुगेको विकास समितिले जनाएको छ।

कालिमाटी फलफूल तथा तरकारी विकास समितिका उप निर्देशक विनय श्रेष्ठले आफ्नो जानकारीमा भएअनुसार प्याजको मूल्य अहिलैसम्मकै उच्च भएको बताए। स्वदेशी उत्पादन अन्त्यन्तै कम भएको र भारतबाट आयात रोकिएका कारण मूल्य आकासिएको उपनिर्देशक श्रेष्ठको भनाइ छ।

समितिकाअनुसार पछिल्लो साता हरेक दिन प्याजको मूल्य प्रतिकिलो औसत १० रुपैयाँ हाराहारीले बृद्धि भइरहेको छ। कालिमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार प्याजको दैनिक आयात १० टन हाराहारीमात्रै छ। सामान्य अवस्थामा प्याजको आयात दैनिक ८० देखि ९० टन हाराहारी हुन्थ्यो । न्युन मात्रामा उत्पादन हुने नेपाली कृषकको प्याज बेमौसमी वर्षाले नोक्सान हुनु पनि बजारमा प्याज अभावको कारण हो। 
 

कमेन्ट लोड गर्नुस