सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे सुरु

२०७६ मंसिर ८, ०७:१९ खबर संवाददाता

निर्माणाधिन मोहनापुल–अत्तरिया ६ लेन सडकमा कालोपत्रेको काम सुरु भएको छ। ६ लेन सडक अन्तरगत पहिलो प्याकेजमा कालोपत्रेको काम सुरु भएको हो। मोहनापुलदेखि चौराह सम्म कालोपत्रे सुरु भएको मोहनापुल–अत्तरिया ६ लेन सडक योजना कार्यालयका प्रमुख होमवहादुर एसीले बताए।

उनले यसै साता भित्रै अन्य खण्डमा पनि कालोपत्रे गर्न सुरु गरिने जानकारी दिए। सडक निर्माणको अवधी गत जेठमै सकिएको थियो। यद्यपी अहिले सम्म सडक निर्माणको अवधी भने थपिएको छैन्। यता सडक क्षेत्रमा रहेका खानेपानीका पाईप भने हटाईएको छैन्।

सडकअन्तर्गत निर्माण हुने तीनवटा पुलको पनि अझै ठेक्का हुन सकेको छैन। धनगढीको मोहना नदी, गेटाको मनहरा खोला र सुमी नालामा पुल निर्माणको डिजाइन गरिएको छ। सडक विभागको व्यापारिक मार्ग विस्तार आयोजनाले बनाइ रहेको सडकमा सुरुका बेला, सडकमा परेका घर संरचना हटाउन केही विलम्ब भएको थियो। 

२०७४ जेठमा दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो। निर्माण सुरु भए यता देखिएका विभिन्न अवरोध र निर्माण कम्पनीको निस्क्रियताले सडक निर्माण कार्यमा ढिलाइ भइरहेकोमा अहिले भने सडक निर्माणले तिव्रता पाएको हो।

अत्तरिया–मोहनापुल, पुर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आउने एक मात्र सडक हो। करिब साढे १४ किलोमिटर ६ लेन सडकलाई मोहना पुलदेखि तीन टुक्रामा ठेक्का दिइएको छ।

प्याकेज एकको ठेक्का शर्मा/अमर/नागार्जुन जेभीलेपाएको छ भने प्याकेज दुई र तीनको ठेक्का राजेन्द्र निर्माण सेवाले पाएको छ।
 

कमेन्ट लोड गर्नुस