दार्चुलाको गोकुलेश्वर खलंगा सडक तीन दशकसम्म परेन प्राथमिकतामा
दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा जोड्ने वैकल्पिक मार्ग गोकुलेश्वर–देथला–खार–दल्लेक–खलंगा सडक सञ्चालनमा आएको तीन दशकसम्म ग्राभेल पनि हुन सकेको छैन। सरकारले कहिल्यै प्राथमिकतामा नपारेको भन्दै स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन्।
महाकाली लोकमार्गअन्तर्गत दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम खलंगा पुग्ने ७२ किलोमिटर दूरीको सडक हाल सञ्चालनमा छ। गोकुलेश्वरबाटै देथला–खार र दल्लेक भएर खलंगा पुग्ने सडक भने स्तरोन्नतिको योजनामा पर्नसकेको छ्रैन्। उक्त धूले सडक ४४ किमिको छ। लेकम क्षेत्रका नेताहरूले आफ्नो ठाउँबाट खलंगासम्म सडक पु¥याएकाले पुरानो बाटोलाई नहेरेको नौगाड गाउँपालिका वडा नम्बर ३ का प्रेमसिंह ठगुन्नाले बताए।
उक्त सडकले ३ वटा स्थानीय तहका धेरैजसो ठाउँ जोडेकाले पनी सिघ्र स्तरोन्नति गरीनुपर्ने उनले बताए। उक्त सडकले शैल्यशिखर नगरपालिका, नौगाड गाउँपालिका र महाकाली नगरपालिकाको धेरैजसो ठाउँ जोडेको छ।
जनप्रतिनिधिले भने सुरुसुरुमै प्राथमिकता पारेका सडक निर्माण गरिरहेका भन्दै स्थानीयले उक्त सडकमा चासो नदिएको आरोप लगाए।
प्रदेशका सांसदहरूले उक्त सडकलाई चालु वर्ष १० देखि १५ करोड बजेट विनियोजन गरेर कालोपत्रे गर्ने आश्वासन दिएपनि अहिलेसम्म बजेटको टुंगो नलागेको ठगुन्नाको भनाई छ। गोकुलेश्वरबाट छोटो दुरीमा सदरमुकाम जोड्नेगरि निर्माण सुरु गरिएको उक्त सडकको ट्रयाक अझै पूर्ण रुपले खुल्न सकेको छैन।
विभिन्न स्थानमा छोटो दुरीका साना सवारीसाधनहरू चल्न थालेपनि सडक वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको छ। साबिक जिल्ला विकास समितिबाट वर्से्नि थोरै बजेट विनियोजन हुने गरेको थियो। सडक विभागले उक्त सडकमा लगानी नगर्दा लामो समयदेखि अधुरै रहेको जिल्ला समन्वय समिति प्रमुख करवीरसिंह कार्कीले बताए।
गत वर्षसम्म महाकाली नगरपालिका र नौगाड गाउँपालिकाले सडक सम्याउने र चौडा पार्ने काम पनि गरेका थिए। पानी परेका बेला अझै पनि धेरै ठाउँ आवागमन अवरुद्ध हुने गरेको छ। कान्तिपुरको सहयोगमा