कञ्चनपुरमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि जग्गा प्राप्तीकै प्रक्रिया अधुरो
भूवन भट्ट– कञ्चनपुरमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा प्राप्तीको प्रक्रिया नै अधुरो रहेको पाईएको छ। कञ्चनपुरको महाकाली नगरपालिकामा निर्माण हुने सुख्खा बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा प्राप्ती गर्नमा ढिलाई भएको हो।
नेपालले महाकाली नगरपालिका वडा नम्बर १० को कन्जभोजमा सुख्खा बन्दरगाह निर्माण गर्ने प्रस्ताव गरेपनि जग्गा प्राप्तीको प्रक्रिया टुङ्गो नलाग्दा अन्यौलता थपिएको हो। २ वर्ष पहिले महाकाली नगरपालिका–१० मा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण कार्य अगाडी बढाउन अध्ययन टोली कञ्चनपुर पुगेको थियो।
उक्त टोलीले कन्जभोजका तीन स्थानलाई प्रस्ताव गरेपनि भारतीय पक्षबाट थप प्रक्रिया अगाडी नबढेको दावी गरिदै आएको छ। नेपाली पक्षले गर्ने सबै प्रक्रिया पूरा गरेको तर भारतको जवाफको पर्खाइमा रहेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयका सह–सचिव नवराज ढकालले बताए। तर सुख्खा बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने एक सय १५ बिगाह जग्गाको टुङ्गो भने अझै लागेको छैन्।
कन्जभोजमा अहिले सम्म ७० बिघा जग्गा मात्रै सरकारसँग छ तर बाँकी जग्गा अधिग्रहण गर्नुपर्ने बताईदै आएको छ। सह–सचिव मैनालीले पहिलो चरणको प्रक्रिया भने सोहि जग्गा बाट सम्पन्न हुने बताए। पछी बाँकी जग्गा अधिग्रहणको कार्य अगाडी बढाईने उनले बताए।
यता सुख्खा बन्दरगाह निर्माणपछि लगानी मैत्री वातावारण बन्ने भन्दै उत्साहित भएका व्यवसायी निर्माण अन्यौलमा परेपछि निराश भएका छन्। सुख्खा बन्दरगाह निमार्ण भए भारतसँग सहज व्यापार गर्न सकिने अपेक्षा गरिएको थियो। भारतबाट आयात मात्रै नभई उत्पादीत वस्तु निर्यातमा समेत वृद्धि हुने भएकाले सरकारले शिघ्र निमार्णमा जोड दिईनुपर्ने उद्योग वाणिज्यसंघ कञ्चनपुरका अध्यक्ष जंग मल्लले बताए।
सरकारले भारत सँग कुटनितिक पहल गरी बन्दरगाह निर्माणको प्रक्रिया तत्काल अगाडी बढाउनुपर्ने माग गरिएको छ। सरकारको लापरवाही र वेवास्ताले सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडी नबढेको महाकाली नगरपालिकाले बताउँदै आएको छ।
केन्द्रीय सरकारले चासो नदिएपछि बन्दरगाह निर्माणको प्रक्रिया अगाडी बढाउन माग गर्दै स्थानीय जनप्रतिनिधि र सासंदको टोली डेलीकेशन समेत गएको थियो। तर केन्द्रीय सरकारको लापवाहीले बन्दरगाह निर्माण प्रक्रियामा ढिलाई भईरहेको महाकाली नरपालिकाका प्रमुख विरबहादुर सुनारले बताए।