सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसीर १४ गते हुने उपनिर्वाचन मिनि जनमत संग्रहः पूर्वमन्त्री साउँद

२०७६ मंसिर ५, ०५:५० खबर संवाददाता

बैतडी: नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री एनपी साउँदले मंसीर १४ गते हुने उपनिर्वाचन मिनि जनमत संग्रह भएको बताएका छन् । बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री साउँदले अहिलेको सरकार अधिनायकवादी बाटोमा हिँडेको बताएका छन्।

निर्वाचनले सरकारको समीकरणमा केही फरक नपरे पनि लोकतन्त्र र अधिनायकवाद कसलाई रोज्ने जनताको हातमा भएको उनले बताएका छन्। वर्तमान दुईतिहाईको सरकारले देशमा भ्रष्टाचार रोक्न नसकेको आरोप लगाउँदै नेता साउँदले वर्तमान सरकार राष्ट्रियताका पक्षमा चुकेको बताए। 

सत्ताबाहिर हुँदा भारतको विरोध गर्नेहरु सरकारमा पुगेपछि चुप लागेको पूर्वमन्त्री साउँदले बताए। अहिलेको लडाँइ लोकतन्त्र र अधिनायकवादीहरुको बीचमा भएकाले जनताले कसलाई रोज्ने जनताकै हातमा भएको उनको दाबी छ। सरकारका पछिल्ला गतिविधि लोकतन्त्र निस्तेज पार्ने खालका भएकाले यसमा जनता सचेत हुनुपर्नेमा उनले जोड दिए। 

कार्यक्रममा पूर्वराज्य मन्त्री गोविन्द शाह, नेपाली कांग्रेसका कञ्चनपुरका पूर्व सभापति बहादुरसिंह थापा लगायतको सहभागिता रहेको थियो। उपनिर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले केन्द्रिय नेताहरुको सहभागितामा आमसभा गर्दैआएको छ।
 

कमेन्ट लोड गर्नुस