सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा प्याजको भाउ आकाशियो, उपभोक्ता मारमा

२०७६ मंसिर ३, ०४:१९

डडेल्धुरा: डडेल्धुरा सदरमुकाममा प्याजको मुल्य अत्यधिक बढेको छ। सदरमुकाममा प्याज अहिले प्रतिकिलो २०० रुपैयाँमा बिक्री हुँदैछ।  प्याजको मुल्य बढेसँगै अहिले बजारमा माग घट्दै गएको अमरगढी ५ का तरकारी व्यवसायी वीरबहादुर शाहुले बताए। ‘त्यो पनि सबै ठाउँमा पाउन छोडेको छ’ उनले भने।

त्यसैले धेरैले प्याज नै किन्न छोडेको व्यापारीले बताउँछन।  प्याजसँगै अन्य तरकारीको भाउ पनि निकै महंगिएको शाहु बताउँछन्। भारतबाट आयात हुने प्याज नआउनु र स्थानीय उत्पादन घटेर गएका कारण प्याजको मुल्य आकाशिएको तरकारी व्यवसायीले जनाए।

केही दिन अगाडिसम्म प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको प्याज एक्कासी २०० रुपैयाँमा बिक्री हुँदा उपभोक्ता निकै मारमा परेका स्थानीय टेक खड्काले बताए। उनले हप्ता दिन यता प्याजबिनाको तरकारी खाइरहेको बताए। 
भारतमा यस वर्ष प्याज उत्पादनमा आएको कमीले नेपालमा असर परेको व्यापारीहरु बताउँछन्। त्यसको असर डडेल्धुरामा पनि परेको छ।

भारतमा ढिलो गरी सुरु भएको मनसुन र लगातारको वर्षाले खेती नष्ट भएपछि प्याजको मूल्य वृद्धि भएको बताइएको छ। डडेल्धुरा अन्य तरकारी मा आत्मनिर्भर भएता पनि मसलादार तरकारी लसुन, प्याज, धनियामा भने परनिर्भर रहेको कृषि विशेषज्ञ बताउँछन। 

कमेन्ट लोड गर्नुस